काठमाडाैँ- कलाकार तथा चलचित्र निर्माता, निर्देशक रेखा थापाले कोभिड – १९ को महामारीमा संयमित भएर अगाडि बढ्न अनुरोध गरेकी छन्। देशसञ्चारसँगको कुराकानीमा थापाले सकारात्मक भएर एक अर्कालाई सहयोग गरेर प्रोत्साहन गर्न आग्रह गरेकी हुन्।
थापाले यो समयमा विभिन्न किसिमका नकारात्मक सोचहरु आउन सक्ने बताइन्। उनले भनिन्, ‘म लेखेर दिन्छु, भोलि अत्यन्त सुन्दर समय आउँदैछ, हाम्रो जीवन धेरे नै राम्रो छ, सुन्दर जीवन आउन नै बाँकी छ। यो सुन्दर जीवन आउने आशावादी हुँदा हुँदै अहिलेको अवस्थामा कृपया सकारात्मक भएर एक अर्कालाई सहयोग गरौँ।’
उनी अगाडि भन्छिन्, ‘जीवन रहेछ भने दुश्मनी गरौँ, बाझाबाझ गरौँ। हामीलाई कुरा गर्न मन लागेन भने त्यतिखेर नगरौँला। अवस्था फरक छ, कोहीसँग बोलचाल छैन भने बोलौँ। जीवन देखिहाल्नुभयो, ‘वान नाइट मिरर।’ त्यसैले यो समय भनेको एक अर्कासँग झगडा गर्ने, एक अर्कालाई गिराउने समय होइन। सकारात्मक होऔँ।’
‘अहिलेको समयमा सामाजिक दूरी कायम गुर्न नै सबैभन्दा उत्तम हो, योसँगै मास्क लगाउने, स्यानिटाइजर पनि अनिवार्य लगाउनु पर्छ,’ थापा भन्छिन्, ‘हामीलाई केही हुन्न भनेर बाहिर निस्कन सक्छौँ, तर घरका परिवारलाई संक्रमण हुन सक्छ। बाबाआमाको ख्याल गर्नुपर्छ।’
अन्त्यमा उनी भन्छिन्, ‘आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ। सबैजना मिलेर हातेमालो गरेर कोरोनालाई जितौँ।’


