म्यानचेस्टर युनाइटेडले सोमबार राति युरोपा लिगको सेमिफाइनल यात्रा तय गरेको छ । यसका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा पेनाल्टीबाट गरेको निर्णायक गोलको सहयोगमा उसले एफसी कोपनहेगनलाई १–० ले हरायो ।
सन् २०१७ मा इंग्लिस प्रिमियर लिग क्लबले युरोपेली क्लब फुटबलको दोस्रो ठूलो उपाधि जितेको थियो । अब सेमिफाइनलमा उसले सेभिया अथवा उल्भ्सको सामना गर्नेछ ।
कोपनहेगनले पहिलो हाफमा आफ्नो प्रभुत्व देखाए पनि पछि त्यसलाई कायम राख्न सकेन । खेलको अन्त्यतिर म्यानचेस्टर आक्रामक देखियो र यसैक्रममा फर्नान्डेजले पेनाल्टीलाई गोलमा परिणत गरे ।
एन्थोनी मार्सियलमाथि भएको फलमा प्राप्त पेनाल्टीलाई पोर्चुगाली खेलाडीले ९५ औं मिनेटमा सजिलै गोलमा परिणत गरेका हुन् । सेभिया र उल्भ्सबीचको खेल मंगलबार हुँदैछ ।


