काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाले श्रद्धापूर्वक मनाउने पर्व ‘तीज’ आउन करिब दुई साता बाँकी छ । तीज भित्रिन लाग्यो भन्नासाथ महिलाहरु रोमाञ्चित हुन्छन् र माइती–साथीसंगीसँग भेटघाट गर्न पाउने खुशीबाट पुलकित हुन्छन् । हुन पनि, तीज हिन्दु धर्मावलम्बी महिलाको विशेष पर्व हो । दर खाने, व्रत बस्ने, नाचगान गर्ने तीजका विशेषता हुन् । हरेक वर्ष तीजलाई लक्षित गरेर बजारमा दर्जनौँ नयाँ गीत–संगीत भित्रिने गरेका छन् ।
यसरी भित्रिएका गीतमध्ये केही मौलिक पनि हुन्छन् भने धेरैजसो उच्छृङ्खल, अश्लील पाइन्छन् । केहीले चर्चा बटुल्नकै लागि उच्छृङ्खल र अश्लील गीतको सहारा लिएका हुन्छन् भने केहीले सांस्कृतिक महत्व नबुझेर त्यस्ता गीत ल्याउने गरेको पाइन्छ । कयौँ त्यस्ता गीत छन्, जसका शब्दबारे विवाद भएको छ । उच्छृङ्खल, अश्लील गीतले तीजको सांस्कृतिक पाटोलाई नै विकृत तुल्याउँदै गएको धेरैको गुनासो छ।
लोकगायकका रुपमा ख्याति कमाएका बमबहादुर कार्की तीजको नाममा जस्ता पनि गीत–संगीत बन्न थालेकामा चिन्तित छन् । उनी नेपालमा तीजको गीत रेकर्डिङको सुरुवात गर्ने ब्यक्तिसमेत हुन् । यस कारण पनि उनी तीज गीतको मौलिकता हराउने पो हो कि भन्नेमा चिन्तित देखिएका हुन् ।
पहिले तीजको माहोल साउने सङ्क्रान्तिपछि सुरु हुने गर्दथ्यो अर्थात्, साउने सङ्क्रान्तिपछि मात्र बजारमा तीज गीत भित्रिन्थे । अचेल भने चैत–वैशाखतिरै तीज गीत बजारमा आउँछन् । गीत चाँडो बजारमा आएकोमा लोकगायक कार्कीको आपत्ति छैन । तर तीज गीतका नाममा जस्तो पनि गीत आउन थालेकोमा भने उनको आपत्ति छ । त्यस्ता गीतले संस्कृति बिगार्न थालेकोमा उनलाई चिन्ता छ ।




















