कोरोना भाइरसले नेपालका हरेक क्षेत्र अस्तव्यस्त भएको छ । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन । लकडाउनपछि सयौं सिनेमा हलमा ताला लागे । फ्लोरमा रहेका फिल्म रोकिए ।
प्रदर्शनको तयारीमा रहेका फिल्म कम्प्यूटरको हार्ड डिस्कमै थन्किए । फिल्म क्षेत्र पहिलेको जस्तो अवस्थामा कहिले फर्किन्छ, कुनै टुंगो छैन । यही अवस्था रहे फिल्म क्षेत्र थप धरासायी हुने निश्चित छ ।
फिल्म सम्बन्धित सम्पूर्ण कार्य ठप्प हुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । वर्षमा विरलै फुर्सदसँग घरमा बस्न पाउने कलाकारहरु तीन महिनादेखि घरभित्रै सीमित हुँदा दिकदार भएका छन् ।
लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोमा काम गर्ने कलाकारको दैनिकी केही सहज भए पनि फिल्ममै सीमित कलाकारहरु लकडाउन खुल्ने प्रतिक्षामा दिन काटिरहेका छन् ।
सरकारले लकडाउन घोषणा गरेपछि अभिनेता पल शाह तीन महिना घरभन्दा बाहिर निस्किएनन् । लकडाउन खुकुलो भएपछि भने उनी म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।
दुई हप्ताअघि उनले ‘ए है माया’ बोलको गीतमा अभिनय गरे । यो गीत एक हप्तादेखि यूट्युब ट्रेन्डिङ छ । मंगलवार उनले अभिनेत्री स्वस्तिमा खड्कासँग अर्को नयाँ गीतको छायांकन भ्याएका छन् ।
तीन महिनापछि एक्सन-कटमा फर्किन पाउँदा स्वस्तिमा खुसी देखिएकी थिइन् । तर, धेरै दिनको विश्रामले उनलाई ढाड दुखेर नाच्न समस्या भइरहेको थियो । पललाई पनि ‘ए है माया’ गीतको रिहर्सल गर्दा यस्तै समस्या भएको रहेछ ।
गीतको सुटिङ सेटमा स्वस्तिमाले ढाड दुखेको भनिरहँदा पलले त्यही दिन सम्झिए । तर, स्वस्तिमाले ढाड दुख्दा पनि राम्रो काम गरेको उनले बताए ।
पल र स्वस्तिमाले तीन वर्षपछि म्यूजिक भिडियोमा स्क्रिन साझेदारी गरेका हुन् । तीन वर्षपछि काम गर्दा एकअर्कामा कुनै परिवर्तन नदेखेको उनीहरुको भनाई छ ।
म्यूजिक भिडियोमा सँगै काम गरे पनि फिल्ममा भने यो जोडीले रोमान्स गर्न पाएका छैनन् । यी दुईलाई सिल्भर स्क्रिनमा हेर्न दर्शकहरु प्रतिक्षारत छन् । के उनीहरु पनि फिल्ममा सँगै काम गर्न इच्छुक छन् त ?
स्वस्तिमा भन्छन्, ‘म फिल्म क्षेत्रमा आउँदा पललाई म्यूजिक भिडियोको ‘किंग’ भनिथ्यो । मेरो पहिलो फिल्म प्रदर्शन नहुनुभन्दा अगाडि पलसँग एक भिडियोमा काम गरेको थिएँ ।
पहिलो भेटमा नै उसले ४ घण्टा कुराएको कहिल्यै विर्सन्नँ । मेरो करिअरको सुरुवात नै पलसँग भएकाले ऊसँग फिल्ममा पनि काम गर्ने इच्छा छ । राम्रो स्क्रिप्टबाट अफर आए अवश्य काम गर्नेछौं ।’


