मोहसिन अलि मियाँ
गोरखा – दुवै मृगौला काम नलाग्ने भएकी अश्राङकी सिता लम्साललाई बचाउन जापानबाट गोर्खाली युवाहरुले रकम जुटाइदिएका छन् ।
गत जेठदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनको उपचारमा आर्थिक संकट भएको भन्दै परिवारले सहयोगका लागि याचना गरेका थिए । सोही बिषयलाई लिएर केहि हप्ताअघि गोरखा समाचार दैनिक र गोरखा समाचार डटकममा समाचार प्रकाशित भएपछि गोरखा समाज जापानको अगुवाईमा डेढ लाख रकम संकलन भएको हो ।
समाजले ‘सिता बचाउ अभियान’ नै चलाएर करिब दुई हप्तामा संकलन गरेको १ लाख ४८ हजार रुपैया बिहिबार भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले सिताका श्रीमान बुद्धिबहादुर लम्साललाई घरमै गएर हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा लम्साललाई गाउँपालिकाका तर्फबाट समेत सहयोग गर्ने पाण्डेले आश्वासन दिएका छन् ।
लम्सालको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको उनकी छोरी अम्बिका लम्सालले बताइन् । गत जेठमा दुवै मृगौला फेल भएपछि उनलाई काठमाण्डौ स्थित मनमोहन अस्पतालमा लगिएको थियो । त्याहा उपचार सम्भव नभएपछि उनलाई भारत लगियो । त्यहा २ महिना राख्दा भएको रकम सकिएपछि उनलाई नेपाल फर्काइएको थियो । लम्सालको शारिरिक अवस्था नाजुक भएपछि हाल पोखरा स्थित फिस्टेल अस्पताल राखिएको छ ।
यसअघि भारतमै रोजगारीमा रहेका लम्सालका श्रीमान बुद्धि बहादुर पनि हाल घर फर्केका छन् । श्रीमतीको अवस्था नाजुक भएपछि उनको रेखदेख र उपचारका लागि जागिर छोडेर घर फर्किएका उनको अन्य आर्थिक स्रोत पनि छैन । हालसम्म झण्डै १० लाख रुपैया भन्दा बढी रकम श्रीमतीको उपचारमा लगाइसकेको उनि बताउछन् ।
असहायको अभिभावक बन्दै गोरखा समाज जापान
पछिल्लो समय गरिब, असहायका पिडामा साथ दिदै गोरखा समाज जापानले अभिभावकको भुमिका निर्वाह गरिरहेको छ । गोरखाका बिभिन्न पालिकामा घर भई हाल जापानमा रहेका युवाहरुको सकृयतामा केहि बर्षअघि स्थापना भएको समाजले आर्थिक कारणले उपचारमा समस्या रहेका विपन्नहरुलाई बिभिन्न अभियान संचालन गरेर सहयोग गर्दै आएको छ । समाजले पछिल्लो दुई महिनाको अन्तरालमा ३ जनाको उपचारमा अभियान संचालन गर्दै रकम जुटाइदिएका छन् ।
सिएम भट्टराई नेतृत्वमा रहेको समाजले २ महिनाको अन्तरालमा पेटमा ट्युमर भएका आरुघाटका सागरको उपचारका लागि १ लाख २२ हजार, ब्रेन ट्युमर भएका गण्डकी गाउँपालिकाका १ लाख ४५ हजार र दुवै मृगौला पिडित अश्राङकी सिता लम्साललाई १ लाख ४८ हजार रुपैया रकम सहयोग गरेका छन् ।
‘हामी आफ्नो लागि मात्रै पैसा कमाउन आएका होइनौ’ गोरखा समाज जापानका सचिव विराट बाबु खनालले भने ‘आफुले कमाएकोबाट समाजमा रहेका दिनदुखीलाई सहयोग गरेर सामाजिक उत्तरदायित्व पनि निभाउन चाहान्छौ ।’ उनिहरुले विरामीका नाममा ‘बचाउ अभियान’ नाम दिएर सहयोग रकम संकलन समिति नै निर्माण गर्ने गरेका छन् । रकम अभावकै कारण ज्यान गुमाउनुपर्ने बाध्यतामा समाजले मलमपट्टी लगाउने प्रयत्न गरेको समाजकी अम्बिका भन्तनाको भनाई छ ।



