गोरखा समाचारदाता
तनहुँ – तनहुँको भानुमा नगरपालिकामा ७ बर्षिय बालकलाई चितुवाले आक्रमण गर्दा ज्यान गएको छ ।
सोमबार साँझ भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका ७ बर्षिय छोरा ऋतिक रोक्कालाई चितुवाले आक्रमण गर्दा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका उनलाई चितुवाले आक्रमण गरेको थियो । उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको छ । बालकको शरीरको कम्मरमुनीको भागमा चितुवाले आक्रमण गरेको अवस्थामा शव भेटिएको छ।
उत्त क्षेत्र केही बर्ष देखी चितुवाको आक्रमणका लागि बदनाम क्षेत्र मानिदै आएको छ । गएको दसैँको टिकाको दिनमा पनि चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु भएको थियो।
चितुवाको आक्रमण बढ्न थालेपछि जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ र बाख्रासहितको फलामको खोर बनाएर नियन्त्रणमा लिने प्रयास समेत असफल भए पछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतको टोली पनि चितुवा नियन्त्रणमा खटिएका छन्।



