गोरखा समाचारदाता
गोरखा – आज काग तिहार अर्थात यमपञ्चकको पहिलो दिन । कात्तिक कृष्ण त्रयोदशीमा देशै भर हिन्दुहरुले काग पूजा गरी मनाइँदै छ ।
आजको दिन कागलाई भोजन गराउने परम्परा रहदै आएको छ । कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भन्ने जन विश्वास रही आएको छ ।
कागलाई यमदूत पनि मानिएको छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ रहन्छ भन्ने ज्योतिषीय मान्यता छ ।
सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । तात्कालिन अवस्थामा सञ्चार सम्र्पक गर्न पनि कागको प्रयोग गर्ने गरेको किंवदन्ती छ ।
मानिसहरुले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतराका बारेमा कराएर जानकारी दिँदै सचेत गराउने हुदा काग मानिसको साथी मानिन्छ ।
काग चरामध्येकै बाठो चरा हो ।



