गोरखा समाचारदाता
गोरखा – राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षीदलका नेता सुरेन्द्रराज पाण्डेले अबदलिय राजनिति भन्दा माथि उठ्नु पर्ने बेला आएको बताएका छन् ।
पहिलो छेवेटार मेलाको उद्घाटन गर्दै बिहीबार उनले सामाजिक काममा जनप्रतिनिधिले राजनिति गर्न नहुने बताएका हुन् । ‘भन्नलाई हामी सुखी नेपाली नेपाली समृद्धी नेपालभन्ने तर सानो सानो काममा पनि राजनिति गर्ने ?, उनले भने, म सुन्छु यो मेला गर्दै गर्दा यहाँका स्थानीय जनप्रतिनिधिहरुले राजनिति गर्नु भयो रे, यो निकै दुखःद कुरा ।’ छेवेटारमा भएको मेलामा वडा कार्यालयले आवश्यक सहयोग नगरेको आयोजकको गुनासो पछि उनको यस्तो धारणा आएको हो ।
परम्परगत जात्राको बिकसित रुप मेला महोत्सव भएको भन्दै उनले सुर्योदय युवा क्वलले छेबेटार जस्तो सानो ठाउँमा १० दिन सम्म मेला आयोजना गरेर उदारणीय काम गरेको बताए । मेलाले स्थानीयकला संस्कृति र व्यापारको प्रवद्र्धन गर्नुका साथै आन्तरिक पर्यटक भित्र्याउने उनको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले मेला महोत्सवले स्थानीय उत्पादनको खरिद बिक्रि गर्ने मौका स्थानीयले पाएका छन् ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखा नगरपालिका धार्मिक एवं ऐतिहासिक नगरी भएकाले यस्ता मेला महत्वले पर्यटन प्रवद्र्धनमा थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पूर्व सांसद एवं संघिय समाजबादी पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, चेम्बर अफ कमर्सका उपाध्यक्ष कृष्ण ढकाल लगायत अन्य सरोकारवालाहरुले मन्तव्य राखेका थिए ।
भिआईपि क्राउड इन्भेट र सुर्योदय युवा क्लबको आयोजनामा भएको मेलामा स्थानीय कला संस्कृती प्रवद्र्धन गर्नुका साथै गायन र नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । मेलामा हेलिकोप्टरबाट रमणिय स्थलहरुको अबलोकन गर्ने, दरौंदीमा ¥याफ्टिङ र डुंगा सयर गराउने व्यवस्था पनि मिलाइएको छ ।
गुरुङ, मगर, नेवार, कुमाल, तामाङ लगायतका समुदायको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती मेलाका मुख्य आकर्षण रहने आयोजकको भनाई छ । मेलामा पशुपतिशर्मा, प्रकास सपुत, प्रिती आले, ज्योती मगर, रमेशराज भट्टराई, ढाकाराम पौडेल, कमला घिमिरे लगायतको प्रस्तुती रहने छ ।



