गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका–१० छेबेटारमा हुन लागेको रमाइलो मेलाको तयारी तिब्र पारिएको छ । अशोज ३० गते सुरु हुने मेलाको तयारी धमाधम भइरहेको आयोजकले सुर्योदय युवा क्लवका अध्यक्ष प्रदिप कुँवरले जानकारी दिए । ‘मेलाको लागि आवश्यक तयारी जोडतोडले भइरहेको छ’ उनले भने ‘स्टल र मञ्च निर्माणको काम सुरु अन्तिम चरणमा पुगिसकेको छ, प्रचारप्रसार गर्ने निमन्त्रणा पढाउने काम भइरहेको छ ।’
भिआईपि क्राउड इन्भेट र सुर्योदय युवा क्लबको आयोजनामा हुने मेलाले स्थानीय कला संस्कृती प्रवद्र्धन गर्नुका साथै गायन र नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘अन्य मेला महोत्सवमा स्थानीय प्रतिभाहरुले बिरलै चान्स पाउँछन्’ उनले भने ‘हामीले भने लुकेर रहेका प्रतिभाहरुलाई मौका दिने उदेश्यले खुल्ला नृत्य र गायन प्रतियोगिता समेत आयोजना गरेका छौं ।’
मेलामा हेलिकोप्टरबाट रमणिय स्थलहरुको अबलोकन गर्ने, दरौंदीमा ¥याफ्टिङ र डुंगा सयर गराउने व्यवस्था पनि मिलाइएको छ । गुरुङ, मगर, नेवार, कुमाल, तामाङ लगायतका समुदायको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती मेलाका मुख्य आकर्षण रहने आयोजकको भनाईछ । ‘स्थानीय कला र संस्कृतिको प्रवद्र्धन गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने हाम्रो प्रयास रहनेछ’ अध्यक्ष कुँवरले भने ‘मेलाले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गर्ने हामीले अपेक्षा लिएका छौं ।’
मेलामा पशुपति शर्मा, प्रकास सपुत, प्रिती आले, ज्योती मगर, रमेशराज भट्टराई, ढाकाराम पौडेल, कमला घिमिरे लगायतको प्रस्तुती रहने छ । राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने उक्त मेलाको समापन भने प्रतिनिधि सभा सदस्य चुडामणी खड्काले गर्ने कार्यक्रम छ । गोरखा विकास अर्थतन्त्रको आधार पर्यटन जलस्रोत कृषि र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ आयोजना गरिएको मेला कात्तिक ९ गते सकिनेछ ।



