मोहसिन अलि मियाँ
गोरखा – गोरखा र तिब्बतको सिमानामा पर्ने रुइला नाका खोल्न प्रकृया अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताएका छन् ।
बुधबार गोरखा सदरमुकाममा दोस्रो दशै सस्तो मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले नाका खोल्न पहल स्वरुप आगामी १५ गते मुख्यमन्त्री सहित आफुहरु त्यस क्षेत्रको अनुगमनमा जान लागेको बताएका हुन् । ‘गोरखामा पर्ने रुइला नाका खोल्ने प्रयासमा छौ’ उनले भने ‘नाका खुल्यो भने चाइनिजलाई गोरखालीले भात खुवाएर भ्याउदैनन ।’
आर्थिक सम्बृद्धिका लागि पर्यटन विकास अपरिहार्य रहेको बताउदै मन्त्री बस्नेतले २ बर्षभित्र उत्तरी क्षेत्रमा रहेको धार्चे र चुमनुब्रीमा समेत सहज रुपमा यातायात पु¥याउने आश्वासन दिएका छन् ।
उपभोक्तालाई सस्तो र गुणस्तरिय सामाग्री बिक्रि गर्न मेला आयोजना गर्दैमा स्थानीय ब्यवसायीलाई असर नपर्ने बताउदै उनले ब्यवसायीहरु अब संगठित हुने बेला आएको बताए ।
संघियता आएसंगै जनताले सरकारबाट ठूलो अपेक्षा राखेको भन्दै उनले केहि कानुनी जटिलताका कारण अझैपनि सोचेअनुसार काम गर्न नसकिएको बताएका छन् । २ बर्षमा देशमा विकासको लहर सुरु भइसकेको उनको दावी छ ।
अरुलाई आक्षेप लगाएर खिल्ली उडाउने काम बन्द हुनुपर्ने भन्दै मन्त्री बस्नेतले सहकार्य र एकताको बाटोमा सबै उभिनुपर्नेमा जोड दिए ।
बुढीगण्डकी जलविद्युत आयोजनामा देखिएका समस्याहरुले अब केहि दिनमा निकास पाउने विश्वास गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबिचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
खानेपानी, विद्युत, सडक लगायतका पूर्वाधारमा सरकारले गोरखालाई प्राथमिकता दिएको समेत उनले बताए ।




















