कैलासबावु श्रेष्ठ/गोरखा
हिन्दू नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तिज हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि केही बर्ष यता देखी हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने बिदेशमा रहेका सबै हिन्दु नेपाली महिलाहरुले मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै सम्झना स्वरुप हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
ब्रत बस्ने दिन
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
दरखाने दिन
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । तर हिजो आज जित आउनु महिना अधि देखी पार्टी प्यालेस देखी सार्वजनिक स्थानमा दर खाने कार्यक्रमको आयोजना गरीन्छ ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
महत्त्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
ऋषिपञ्चमी
शास्त्र अनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती ९गनिएका तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।
तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो ।


