नुवाकोट — ककनीगाउँपालिका–१ ओखरपौवामा फोहोर बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उक्त क्षेत्र अहिले तनावग्रस्त बनेकाे छ ।
सोमबार बिहान पाैने ८ बजेतिर बा २ ख ६११८ नम्बरकाे गाडीकाे ठक्करबाट अाेखरपाैवास्थित महालक्ष्मीस्थानमा स्थानीय ४५ वर्षीय पदम बलामीको मृत्यु भएको डिएसपी भीम भट्टराईले जानकारी दिए। अहिले फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले रोकेका छन् भने ओखरपौवा तनावग्रस्त बनेको छ।
आक्रोशित स्थानीयले उक्त टिपरको सिसा फुटालेको प्रहरीले जनाएको छ । टिफर चालक फरार छन् । घटनास्थलमा सयाैकाे संख्यामा भेलाभएका मृतकका आफन्त र गाउँहरुले सडक जाम गरेका छन् ।
जिल्लाबाट गएको प्रहरी टोली पासाङ ल्हामुमार्गको ककनीगाँउपालिका–१ चिसोधारामा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएको छ । उक्त सडक खुलाउने प्रयास भैहरेको छ । स्थिति साम्य पार्न काठमाडौंदेखि समेत प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाको फोहोर १३ वर्षदेखि ओखरपौवाको सिसडोलमा फालिंदै आएको छ। दैनिक ८० भन्दा बढी गाडी सिसडोलमा फोहोर फाल्न जाने गर्छन्।
kantipurdaily




















