- तीन दिनदेखि बजार र यातायात बन्द
कञ्चनपुर — किशोरी हत्याको विराेधमा ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा बिहीबार चार जना घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइते भएकाहरु बारेखुल्न सकेको छैन।जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे थियाे। अश्रु ग्यास सकिए पछि गाेली चलाएकाे हाे।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्।प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए।
बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित भएको छ। प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।
दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द छ। बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ। बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजीलगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ।
kantipurdaily




















