असार तेस्रो साताको अविरल वर्षाले सुदूरपश्चिम नेपालको दार्चुलाको व्यास क्षेत्रमा रहेको नेपाल-भारत जोड्ने अस्थायी काठेपुल र महाकाली नदीमाथि लगाइएको तुइन बगेको छ।
नदीमा पानीको सतह बढेको बेला पुल र तुइन बग्दा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
पुल र तुइन बगेपछि म्लिङ, राप्ला, सुन्सेरा, धौलाकोट, हुती लगायतका स्थानीयवासी प्रभावित भएका हुन्।
व्यास गाउँपालिका-२ दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकीले यातायात नहुँदा हिँडेर नै विभिन्न स्थानमा जानु परेको बताए।
समस्या
“आवतजावत गर्न त भारतबाट सम्भव नै छैन। तुइन पनि छैन, पुल पनि छैन, नेपाल भएर नै तीन दिन लगाएर आउनुपर्छ, कोही बिरामी भए पनि तीन दिनसम्म बोकेरै ल्याउनुपर्छ।”
भारतीय बजारसँग सीमा जोडिएको कारण उक्त क्षेत्रका स्थानीयवासीमा दैनिक उपभोग्य सामाग्री भण्डारण गर्ने चलन नभएकाले झन् समस्या परेको उनीहरू बताउँछन्।
भारतीय सञ्चारमाध्यम र भारतीय अधिकारकर्मीहरूका अनुसार भारतको नज्याङ, मालिपा, बुँदीलगायत गब्र्याङमा भारतीयसँगै कतिपय नेपाली नागरिकहरू फसेका छन्।
अस्थायी काठेपुल बगाएको क्षेत्रका स्थानीयवासी लगायत भारतमा फसेका नेपाली नागरिकको उद्धारको पहल भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।
छलफल
उनले दीर्घकालीन समाधानका लागि पक्की पुल बनाउने विषयमा बिहीवारको हुने नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा भारतीय पक्षसँग छलफल गर्ने बताए।
भारततर्फका केही स्थानमा फसेका नेपालीको उद्धार भइसकेको भारतीय अधिकारीहरूले जानकारी दिएको उनले बताए।
“गब्र्याङ भन्ने ठाँउमा केही नेपाली पनि फसेका छन् भन्ने जानकारी छ यस विषयमा मैले सम्पर्क गरिरहेको छु,” उनले भने।
नेपालको बाटोघाटो सहज नहुँदा त्यस क्षेत्रका स्थानीयवासीले सदरमुकाम खलङ्गा आउन भारतको बाटो प्रयोग गर्नुपर्ने र पक्की तथा झोलुङ्गे पुल नहुँदा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
BBC


