काठमाडौँ, असार १२ गते । असार ३ गते आर्थिक वर्ष २०७५/०७६ को बजेट छलफलका क्रममा विभागीय मन्त्री नभएपछि छलफल प्रभावित बन्यो । सभामुख कृष्णबहादुर महराले तत्काल बैठक स्थगित गरेर मन्त्रीहरुलाई उपस्थितको सूचना दिन सचिवालयलाई निर्देशन दिनुभयो । विभागीय मन्त्रीको उपस्थितिपछि बैठक पुनः सुरु भयो । बैठकको सुरुवातमै सभामुखले रुलिङ गर्नुभयो ‘छलफलमा विभागीय मन्त्रीहरु अनिवार्य उपस्थित हुनु ।’
तर, सभामुखको रुलिङ त्यसपछिका तीनवटा बैठकभन्दा बढी टिकेन । मन्त्रालयगत शीर्षकको बजेट छलफलमा मन्त्रीहरूको उदासिनता सोमबार पनि देखियो । सोमबार ऊर्जा सिँचाइ तथा जलस्रोत, गृह र परराष्ट्र मन्त्रालयको शीर्षकमा छलफल जारी थियो । छलफल जारी रहँदा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित हुनु भएपछि बैठक रोकिएको हो ।
विभागीय मन्त्री नभएपछि काँग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । सभामुखले अन्य दुई मन्त्री भएकाले छलफल नरोक्न प्रतिपक्ष दललाई आग्रह गरे पनि उनीहरुले बैठक नै अवरुद्ध गरेका थिए । प्रतिपक्षको अवरोधपछि छलफल रोकिएको थियो । गृहमन्त्रीको आगमनसँगै पुनः बैठक सुरु भएको थियो । मन्त्रीको अनुपस्थितिमा बजेट छलफल रोकिएको दोस्रो पटक हो ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटमाथि छलफल जारी छ । मन्त्रालयगत शीर्षकको छलफल मङ्गलबार पनि जारी रहनेछ । मङ्गलबार प्रधानमन्त्री कार्यालय र मातहतका संवैधानिक निकायको बजेट शीर्षकमा छलफल हुनेछ । यस्तै, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको बजेट शीर्षकमा पनि छलफल हुनेछ ।
मन्त्रालयगत शीर्षकमा छलफल सकिएपछि विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुनेछ । मन्त्रीहरूको जवाफपछि विनियोजन विधेयकका विभिन्न मन्त्रालयका शीर्षकमा पेस भएका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस हुनेछन् । प्रस्तावमाथिको निर्णयपछि विधेयक पारित प्रक्रिया सुरु हुनेछ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । सोमबार दिउँसो सम्बोधनका समय तय भए पनि अन्तिम समयमा रोकिएको थियो । प्रधानमन्त्री चीन भ्रमणका विषयमा सदनलाई जानकारी दिन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । भ्रमणमा भएका सहमति लगायतका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुहुनेछ ।
gorkhapatraonline


