गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर २ मा ३ महिने बाँस हस्तकला र ४५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडा नम्बर २, घरेलु तथा साना उद्योग विकास समिति र सोड नेपालको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो । १७ जनाले बाँस हस्तकला तालिम र ७ जनाले रिफ्रेशर सिलाई कटाई तालिम लिएका हुन् ।
वडा नम्बर २ का वडाअध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । सिलाई तालिममा सहभागिहरुलाई घरेलु तथा साना उद्योग विकास समिति गोरखाले ८० प्रतिशत अनुदानमा सिलाई मेसिन, आइरन तथा कैची लगायतका सामाग्री सहयोग समेत गरेको छ । स्थानीयलाई आत्मनिर्भर बनाउन र गाँउमै रोजगारीको अवसर सृजना गर्न तालिम दिइएको वडाअध्यक्ष मियाँको भनाई छ ।
समापन कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख पन्तले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर ब्यवसायीक रुपमा अघि बढ्न जोड दिएका थिए । कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, घरेलुका सालिकराम घिमिरे, नेकपाका होमबहादुर अधिकारी, नेपाली काँगे्रसका खि बहादुर थापा, प्रशिक्षर्थीहरुको तर्फबाट कमला श्रेष्ठ, रजिना खातुन लगायतले बोलेका थिए ।


