कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ८ गते । पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ भने घरमा राती ढिला भएको निहुँमा आमाले गाली गरेको भन्दै दुई मितिनी मिलेर बिष सेवन गर्दा दुवैको मृत्यु भएको छ ।
सोमबार राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
यता महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा घरमा अबेर साँझ आएको भनि आमाले गाली गर्दा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने खुशीकुमारी चौधरी र उनको मितिनी चाँदनीकुमारी झा ले बिषादी सेवन गर्दा दुवैको मृत्यु भएको हो ।
दुवैले छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिई घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि दुवै मितिनीले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी खाँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुवैलाई बगैँचामा बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


