जेष्ठ २, २०७५ ओखलढुंगा — कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।
उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ। कामिरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए। पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन्।
कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो। उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए। चारवर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरे। उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे।
सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पुर्याए। तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन्। उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन्। संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे। त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन्।
आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए। आप्पाले सन् २०११ बाटै आरोहण छोडे। फुर्वाले सन् २०१३ बाट छोडे। त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्।
kantipurdaily




















