वैशाख २९, २०७५ पर्वत — मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा पर्वत र कास्की खण्डको आवागमन दैनिक ६ घण्टा अवरुद्ध भएको छ । गत सातादेखि सडक फराकिलो पार्ने कामले गति लिएपछि आवतजावत रोकिएको हो ।
सडकको चुवा, दोबिल्ला, डिमुवा, नयाँपुल र गिरिचोकलगायत साँघुरा क्षेत्रमा डबल लेनको बनाउन साइड कटिङ गर्नुपरेकाले दैनिक ६ घण्टा सडकमा आवागमन रोक्नुपरेको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधि काशीराज बोहोराले बताए । बिहान ७ देखि साढे ८, साढे ९ देखि साढे १०, दिउँसो साढे १२ देखि २ र ३ देखि ५ बजेसम्म सडकमा आवागमन रोक्न सुरु गरिएको हो ।
पश्चिम क्षेत्रमा पर्ने १ हजार ९५ किलोमिटरमध्ये पोखरा–बागलुङ खण्ड साँघुरो र बढी सवारी चाप हुनेमध्येको सडक हो । पछिल्लो समय धार्मिक पर्यटकका कारण बढेको सवारी चापलाई मध्यनजर गर्दै यहाँको ६१ किमिलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको पश्चिम क्षेत्रका आयोजना प्रमुख सूर्य भाटले बताए । ‘मनसुनअघि सडक फराकिलो पार्नैपर्ने छ,’ उनले भने, ‘त्यतिबेलासम्म सडक साँघुरो भएका स्थानलाई फोकस गरिरहेका छौं । विस्तार तीव्र गतिमा हुन्छ ।’
फेदीदेखि कास्कीकै नयाँपुलसम्म दुई खण्डमा विभाजन गरी डबल लेनमा विस्तारको काम भइरहेको छ । नयाँपुलदेखि पर्वतको मालढुंगासम्म पर्ने साँघुरो क्षेत्र प्राथमिकतामा राखिएको हो । ‘तीन वर्षभित्र कास्की र पर्वतखण्डको कम्प्लिट गर्नेगरी ठेक्का लगाइएको छ,’ आयोजना प्रमुख भाटले भने । यसअघि सडक विभागको क्षेत्रीय र अञ्चल कार्यालयले मर्मत सम्भारको काम गर्दै आएकोमा गत वर्षदेखि लोकमार्ग आयोजना कार्यालयले जिम्मा लिएको हो ।
मर्मतसम्भारका लागि दैनिक ६ घण्टासम्म सडक अवरुद्ध हुन थालेपछि सर्वसाधारणले भने सास्ती हुन थालेको छ । पर्वतको डिमुवादेखि कास्कीको काँडेसम्म सवारी लामबद्ध हुन थालेका छन् । बिहान र दिउँसो २ पटक ६ घण्टासम्म सवारी आवागमन रोकिँदा कष्ट भोग्नुपरेको यात्रीको गुनासो छ । बिरामी बोकेका गाडी, एम्बुलेन्स तथा महत्त्वपूर्ण कामका लागि प्रदेश राजधानी जाने यात्रीका लागि कामको प्रकृति हेरी छाड्ने गरिएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधि बोहोराले बताए ।
kantipurdaily


