वैशाख २१, २०७५ सुनसरी — सरकारले लागु गरेको नियम विपरित जान खोज्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीसहित नौजना यातायात व्यावसायीलाई सुनसरीको धरानबाट शुक्रबार प्ररहीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पूर्वाञ्चल यातायात वसायी संघका उपाध्यक्ष मोहनमणि बराल, कोशी बस व्यवसायी संघका महासचिव नेत्र थापा, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोशी बस व्यावसायी संघका महासचिव हरि थापा, कोशी बस व्यावसायी संघका उपाध्यक्ष श्याम खरेल, संयुक्त बस व्यावासयी संघका उपाध्यक्ष पदमसुन्दर लिम्बू लगायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। उनीहहरु सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले गरेको बन्दका कारण लामा तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैन। एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु निर्वाध रुपमा चलेका छन्।
गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि नेपालभरका व्यवसायी संघमा आवद्धहरुलाई मध्यान्हदेखि पक्राउ गरेको हो। यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा व्यवसायीहरुलाई धरानमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले बताए।
गतसातामात्र सरकारले सार्वजनिक यातायातलाई अत्यावश्यक मान्दै यातायात बन्द गर्न नपाइने निर्णय गरेको थियो। सरकारले यसअघि सिन्डिकेट खारेज गर्दै कम्पनी दर्ता गरेर स्वस्थ प्रतिश्पर्धाको आधारमा सार्वजनिक यातायात संचालन गर्नु पर्ने निर्णय गरेको थियो।
यातायात व्यवसायीहरुले सरकारले हचुवाको भरमा गरेको निर्णय आफूहरुलाई मान्य नहुने भन्दै निर्णय सच्याउन दबाब दिँदै आएका थिए। यसैबीच सरकारले गरेको सिन्डिकेटको विरुद्धमा बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन्।
यता महासंघका उपाध्यक्ष कुष्ण सुवेदीले सरकारको गृह मन्त्रालयले परिस्थिती भड्काएको आरोप लगाएका छन्।
धरानमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी। तस्बिर: कान्तिपुर
kantipurdaily


