वैशाख २१, २०७५ बुटवल — पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय बुटवलको टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो।
पारिवारिक स्रोतका अनुसार प्रहरीले फोन गरेर ‘कँहा हुनुहुन्छ’ भनेर सोधेका थिए। लगत्तै आएर पक्राउ गरेका थिए।
सिन्डिकेटको पक्षमा दबाब दिन यातयात व्यवसायीले सार्वजनिक सवारी साधन नगुडाएका कारण बुटवलसहित अासपासका जिल्लामा सार्वजनिक यातायात ठप्प छन्।
यातायात बन्दका कारण सर्वसाधरण यात्रु मर्कामा परेका छन्। विरामी लिएर फर्कदै गरेका र रोजगारीका लागि भारतीय सहरमा जान हिडेका यात्रुहरु बाटोमा अलपत्र छन्। दैनिक करिब एक हजार बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलमा बिहीबार साझदेखि नै एउटा बस देखिएन। बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन्। लुम्बिनी क्षेत्रमा १४ वटा सवारी सम्बद्ध समिति छन्। बन्दमा उनीहरु सबै एकवद्ध भएका छन्।
kantipurdaily


