वैशाख २१, २०७५ लमजुङ — सार्वजनिक सवारीसाधन बन्द गराएको भन्दै लमजुङ प्रहरीले यातायात समितिका अध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लमजुङ कालिका यातायात संचालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाइँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको भन्दै उनीहरुलाई बेंसीसहरको बजारक्षेत्रबाट पक्राउ गरिएको प्रहरीले इन्सपेक्टर बुद्धिसागर पुरीले बताए। उनका अनुसार अन्यको खोजी भइरहेको छ।
लमजुङमा लमजुङ कालिका यातायात संचालक समिति र पृथ्वी राजमार्ग बस व्यवसायी समितिले यातायात संचालन गर्दै आएको छ। पृथ्वीसंग आवद्ध बस ब्यवसायी लमजुङमा छैनन्। सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि प्रहरीले बस व्यवसायीलाई खोजी–खोजी पक्राउ गरेका हुन्।
कालिका र पृथ्वीले संचालन गर्दै आएका लामो तथा छोटो दुरीका सवारी साधन संचालन नहुँदा यात्रु समस्यामा परेका छन्। काठमाडौं लगायत मुख्य सहरमा निजी सवारी संचालन गरेर यात्रुलाई सेवा दिँदै आएपनि लमजुङमा भने सेवा दिन नसकेको यात्रुले बताएका छन्।
गृहमन्त्री थापाले देशभरका प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा ऐन २०१४ अनुसार सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका छन्।
kantipurdaily


