काठमाण्डू उपत्यकाको चक्रपथ विस्तारको काम सकिनै लाग्दा सडक सुरक्षाविद्हरूले उक्त सडकखण्ड यात्रु र चालकको लागि असुरक्षित रहेको भन्दै पुन: चिन्ता व्यक्त गरेका छन्।
आठ वर्षअघि स्वीकृत भएको उक्त सडकको नापनक्सा सुधार गर्ने विगतको सरकारी प्रतिबद्धता कार्यान्वन गर्न कठिन रहेको अधिकारीहरुको भनाइ छ।
चक्रपथको लगभग १० किलोमिटर खण्ड सुधारको काम अहिले ९० प्रतिशतभन्दा बढी सकिएको र बाँकी काम श्रावण महिनाभित्रै सकिने आयोजना प्रमुखले बताएका छन्।
पोहर साल नेपालमा सडक दुर्घटनामा २३ सयभन्दा बढीको ज्यान गएको प्रहरीको भनाइ छ। राजधानीका सडकमा पनि दैनिक दुर्घटना हुने गर्दछ।
उक्त सडकको नापनक्सा ठूला र तीव्र गतिमा चल्ने साधनका लागि मात्र उपयुक्त रहेको बताइएको छ।
‘त्रुटी’
तर सडक सुरक्षाको हिसाबले उक्त सडक पैदलयात्री र दुई पांग्रे सवारीमैत्री नरहेको सडक सुरक्षाविद्ले जनाएका छन्।
सडक यातायात सुरक्षाविद् आशिष गजुरेलले भने, ”यो डिजाइनमा नै त्रुटी भयो र यसै कारण सडक धेरै असुरक्षित हुन गएको छ। धेरै दुर्घट्ना हुने सम्भावना एकदमै बढि भयो। यो सडकखण्ड ठूला सवारीसाधन तीव्र गतिमा चलाउनका लागि बनाइएको जस्तो भयो।”
चीन सरकारको साढे चार अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माणाधीन ८ लेनको चक्रपथ सडकखण्ड निर्धारित समयमै सकिने चक्रपथ सुधार आयोजनाले जनाएको छ।
चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुपले गत २०७१ सालबाट सुरु गरेको काम पटक-पटक म्याद थप गर्दै निर्माण भैरहँदा उक्त सडकखण्डको नापनक्साका बारेमा विज्ञले यस अघि पनि प्रश्न उठाएका थिए।
अधिकारीहरुले सुधार गर्ने आश्वासन दिंदै आएका थिए।
सडकको बीचमा चार लेनमा ‘डिभाइडर’ नभएकोले अत्यन्त जोखिम हुने विज्ञहरूको चिन्ता छ।
तर सडक विभागका वैदेशिक सहायता समन्वय गर्ने अधिकारी सन्जयकुमार श्रेष्ठले ‘लेन’ अनुशासन कडाईका साथ पालना गरिए जोखिम नहुने बताए।
उनले भने, ”डिजाइन जस्तो किसिमको गरिएको छ त्यहि अनुसार स्तरोन्नतिको काम गरिएको छ। बीचमा दुईवटा सेतो धर्का लगातार राखिन्छ। सहरीरी क्षेत्रका सडकमा त्यस्तो गर्ने चलन छ। त्यो धर्का नाघेर जान पाईँदैन, त्यसले नै लेन छुट्टयाइदिन्छ। तर हाम्रो देशमा मान्छेहरुले वा सडक प्रयोगकर्ताले त्यो बुझ्दैनन्।”
योजना
आयोजना प्रमुख प्रकाश भण्डारीले सरकारले स्वीकृत गरेको नाप-नक्सामै निर्माण कार्य भएको बताए।
उनका अनुसार खसी बजार, बल्खु खोला, बाग्मती खोला र मनहरा खोलामा सडकको दुवैतर्फ गरि ८ वटा पुल र १० मध्ये तीनवटा आकासे पुल निर्माण भइसकेका छन् भने कलंकीको ‘अण्डरपास’ लगायत बाँकी आकासे पुल निर्माण कार्य पनि निर्धारीत समयमै सकिने छन्।
कलंकी, खसीबजार नजिकै केही मिटर खाल्डो पुर्ने कार्य भने श्रावण महिनामा गरिने भएको छ।
झण्डै १० किलोमिटर मध्ये साढे एक किलोमिटर सडक मात्र कालोपत्रे गर्न बाँकी रहेको र बालुवा अभावमा केही कार्य प्रभावित भएको समेत आयोजनाको गुनासो छ।



