२० वैशाख, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले चूडामणि उप्रेती ‘गोरे’ समूहले पछिल्लो चार वर्षमा मात्र कवि ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।
र, यो सबै सुन दुबई र बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै आउने गरेको थियो । कसरी हुन्थ्यो त तस्करी ? छानबि समितिले केही तथ्य भेट्टाएको छ ।
न्युरोडमा पार्किङ शुल्क उठाउन छाडेर सुनको भरिया
गोरेले दुबईदेखि त्रिभुवन विमानस्थल हुँदै व्यापारीसम्म सेटिङ मिलाएका थिए र लगातार तस्करी हुँदै आएको थियो । तर, पछिल्लोपटक साढे ३३ किलो सुन हराएपछि गोरेले केरकार गर्ने क्रममा सनमको मुत्यु भयो र तस्करीको पोल खुल्यो ।
छानबिन समितिका अनुसार दुबईबाट सुन ल्याउने काम टेकराज मल्ल ठकुरीले गर्दै आएका थिए । उनी गोरेका दाहिने हात थिए ।
काभ्रेको मण्डन देउपुर १२ घर भएका टेकराज पछिल्लो समयमो न्युरोडमा पार्किङको शुल्क उठाउने काम गर्थे ।
त्यसपछि बेनु श्रेष्ठको सुन पसलमा काम गर्दा उनी गोरेको नजरमा परे । उनले ‘१०/१५ दिन दुबई बसेर नेपाल आउने हो, तिमीलाई पनि राम्रो कमाइ हुन्छ’ भनेपछि काम गर्न तयार भए ।
उनले पासपोर्ट बनाए र गोरेलाई भेटेको करिव ३ महिनापछि उनी दुबई पुगे । त्यहाँ संजय खरेलले रिसिव गरेर आफ्नो कोठामा लगे, जहाँ संजय अधिकारी र शिवकुमार गुभाजुलाई भेटे । केही बेरमा गोरे पनि आइपुगेको टेकराजको वयान छ ।
दुबईमा बसेको करिव १० दिनपछि उनलाई ‘नेपाल फर्की’ भनेर एउटा ब्याग दिइयो, जसमा चार किलो सुन थियो ।
उनलाई शिवानी खरेलले दुबईको एयरपोर्टदेखि नेपालको एयरपोर्टसम्म आउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भनी सिकाइन् ।
उनी पनि सँगै आएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आए चेकजाँच गर्नुअघि नै टीजी भन्ने सानु बनले त्यो ब्याग लिए । सोही दिन दिउँसो बेनु श्रेष्ठले फोन गरी आफूलाई ६० हजार दिएको टेकराजको वयान छ ।
तीन दिनपछि उनी फेरि दुबई उठे । योपटक उनले ५ किलो सुन ल्याएका थिए । सुनको ब्याग थमाउने गोरे नै थिए ।
अघिल्लो पटक जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि सानुले त्यो ब्याग लिए । ‘त्यसपछि कहिले ७ किलो, कहिले ८ किलो बोक्दै ल्याइदिने गरेको थिए र मैले सबै भन्दा ठुलो परिमाण १६ किलोसम्म ल्याएको थिएँ’ टेकराजले आफ्नो वयानमा भएका छन् ।
यसबीचमा बेनु श्रेष्ठ र गोरेको पाट्नरसिप छुट्यो र उनी गोरेतिर लाग्यो र उनी विश्वासको पात्र बने ।
टेकराजका अनुसार भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुकबहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई, सानु बन, एल.बि.मगर, तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ, खत्री भन्ने, बालकृष्ण भन्ने, एमके अग्रवाल, चाचा जि भन्ने ब्यक्ती, संजय खरेल, शिबानी खरेल, समिर अधिकारी, संजय अधिकारी, शिवकुमार गुभाजु, चेतन भण्डारी, माधव घिमिरे सुन तस्करीमा सक्रिय थिए ।
साढे ३३ किलो हराएपछि पोल खुल्यो
टेकराजका अनुसार पछिल्लोपटक माघ ९ गते उनी र रोहित आचार्यले दुबईबाट साढे ३३ किलो सुन ल्याएका थिए । त्यसको जिम्मा एयरपोर्टमा सानु वनले लिए ।
तर, साँझ भविन राईले सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटिएको खबर दिए । उनले भविन राई, लाक्पा शेर्पा, टुकबहादुर मगरलाई भेटेर भारतमा भएका गोरेलाई जानकारी गराए । लगत्तै २ वटा गाडीमा सुन खोज्न हिँडेका उनीहरुले एयरपोर्टको कर्मचारी सानु वन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गर्न थाले । उनीहरुले अनामनगरबाट सुन लुटेको बताए ।
एकपछि अर्कोलाई बोलाउन थाले । तर, एक सातापछि गोर भारतबाट आइपुगे । अनामनगरबाट सुन लुटिएको दाबीमा गोरेले विश्वास गरेनन् र भारतमा लगेर सोधपुछ गर्ने योजना बनाए । सिन्धुलीको खनियाँखर्कमा पुगेपछि मोहन काफ्लेले तक्ले, एलबी मगर, सानु वन, बालकृष्ण, खत्रीलाई एउटा कोठामा राखेर सोधपुछ गर्दा सबैले भुर्जुन भोटेले लगेको छ भन्ने निश्कर्ष निकाले ।
तर, काठमाडौं आएर डेबिटलाई सोध्दा पुष्टि हुन सकेन । सनम त्यहीबेला सालाको बिहे छ भन्दै हिँडे । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको हल्ला चलेपछि गोरेले सबैलाई सुरक्षित ठाउँमा जान भनेको टेकराजको वयान छ ।
गोरेको टिमले सोधखोज गरिरहेकै बेला आयल निगमको ट्याङ्करले किचेर सानुको मृत्यु भयो । मोहन काफ्ले र सनम शाक्यले टिमसँग सल्लाह नगरी हिँडेका थिए । त्यसक्रममा गोरेले सिलगुढीमा भेटेर आफ्नो समूहका थुप्रैलाई कुटपिट गरे ।
अन्तिममा मोहन काफ्ले, सनम शाक्य, रुस्तम मियाँ, नरेन्द्र कार्कीमाथि शंका बढेपछि गोरे टिम फागुन १३ गते दमकमा रहेको कामक्ष होटलमा भेला भएका थिए । उनीहरुलाई गोरे आफैंले पाइपले पिटेका थिए र करेन्ट लगाउने क्रममा सनमको मृत्यु भएको टेकराजको वयानमा उल्लेख छ ।
onlinekhabar


