वैशाख २०, २०७५ बझाङ — बुधबार राति परेको भीषण असिना पानीसँगैको पहिरोले बझाङमा एक जिप बगाएको छ । जिपमा ३ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । पहिरोले बगाएर से १ ज ८२० नं को जिप जयपृथ्वी नगरपालिकाको सुवेडास्थित सडकबाट करिब १ सय मिटर तल चौट्याखोलामा खसेको छ ।
प्रहरी, सेना र स्थानीयहरु बिहानैदेखि उद्धार कार्यमा जुटेका छन् । अप्ठ्यारो ठाउँमा पहिरोमा पुरिएको अवस्थामा भेटिएकोले उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ । जिपमा चालक रमेशचन्द, सदरमुकामका व्यापारी अम्मरराज बन र एक अर्का यात्रु सवार रहेको बताइएको छ । तीनै जना सम्पर्कविहीन रहेकोले दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको सुवेडाका दिपकराज जोशीले बताए ।
बिहान ७ बजेतिर स्थानीयवासीले जिप दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले डोजरको सहायताले जिप निकाल्न पहल भइरहेको डिएसपी ऋषिराम कँडेलले बताए । उनले गहिरो खोचमा दुई ढुङ्गाको बीचमा जिप खसेका कारण मान्छेबाट गरिएको उद्धार प्रयास असफल भएको बताए ।
kantipurdaily


