अर्मेनियाको सत्तारूढ पार्टीले नयाँ प्रधानमन्त्री चयनका लागि मंगलवार हुने संसदीय चुनावमा आफ्नो उम्मेदवार नउठाने घोषणा गरेको छ।
देशमा देखापरेको राजनीतिक संकटको परिस्थितिलाई सहज बनाउनका लागि आफूले उम्मेदवार नउठाउन लागेको रिपब्लिकन पार्टीले जनाएको छ।
विपक्षी पार्टीका नेता निकोल पासिनियानले सरकारी भ्रष्टाचारविरूद्ध चलाएका आन्दोलनपछि उनीमाथि समर्थन बढ्दै गएको छ।
पासिनियानले प्रधानमन्त्री पदका लागि जनताको रोजाइमा आफू रहेको बताउने गरेका छन्।
समर्थन
१० वर्षका लागि राष्ट्रपति भइसकेर प्रधानमन्त्री बनेका सेर्ज सार्किस्यानविरूद्ध देशभर भएका प्रदर्शनको नेतृत्व पासिनियानले गरेका थिए।
तर रिपब्लिकन पार्टीको संसद्मा बहुमत छ र उक्त सत्तारूढ पार्टीले नयाँ प्रधानमन्त्री चयनका लागि मंगलवार संसद्मा हुन लागेको चुनावमा आफ्नो पार्टीले पासिनियानलाई मत नदिने जनाएको छ।
देशमा राजनीतिक संकट देखापरेकाले राज्यको हितका लागि आफूले त्यसो गर्न लागेको पनि उक्त पार्टीले जनाएको छ।
देशभर भएका ठूला प्रदर्शनहरूले रिपब्लिकन पार्टीका अनुभवी नेता सेर्ज सार्किस्यानलाई गत सोमवार प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारेका थिए।
बीबीसी संवाददाताका अनुसार रिपब्लिकन पार्टीले आफू सधैँ सत्तामा रहन नपर्ने विषय स्वीकारेको छ। तर उसले प्रधानमन्त्रीका लागि कसलाई समर्थन गर्ने भन्ने चाहिँ खुलाएको छैन।
यसैबीच, अर्मेनियाको समर्थक रहेको रुस जसको ठूलो सैन्य आधार अर्मेनियामा छ उसलाई अर्मेनियाको राजनीतिक अस्थीरताले असहज बनाएको हुनसक्छ।
BBC


