काठमाडौँः सरकारले गर्न लागेको पूर्वाधार विकासका कारण संकटमा परेको खोकना गाउँबारे मंगलबार बसेको संसद बैठकमा सांसदहरुले कुरा उठाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले अदालतको निर्णयलाई लत्याउँदै सरकारले उपत्यकाबासीमाथि आक्रमण गरेको आरोप लगाएका छ्न ।
‘अदालतको निर्णयलाई लत्याउँदै राति राति आक्रमण नहोस, शान्तिपूर्णरुपमा भएको प्रदर्शनमा किन बल प्रयोग गरियो ?’, उनले प्रश्न गरे, ‘ पञ्चायतमा जस्तै जनतामाथि पानीको फोहरा र अश्रुग्यास हानिएको घटना ज्यादतिपूर्ण छ ।’
सांसद श्रेष्ठले काठमाडौँ–तराई फास्ट ट्रयाक बनाउने जिम्मा लिएको नेपाली सेनाले खोकनामा अधिग्रहण गरेको सयौँ रोपनी जग्गा अहिले हराएको पनि दाबी गरे ।
‘खोकनाको ३ सय रोपनी जमिन सेनाको नाममा अतिक्रम भएको थियो । तर, अहिले ३० रोपनी मात्रै सेनाले प्रयोग गरेको छ’, उनले भने, ‘अरु ३ सय रोपनी जग्गा कता गयो ?’
सडक विस्तारका नाममा उपत्यकाबासीमाथि ज्यादति भइरहेको बताउँदै सांसद श्रेष्ठले यसले हिंसात्मक अवस्था निम्तने चेतावनी दिए । ‘सरकारको दमनले कुनै दिन हिंसात्मक मोड लिएर गलत दिशामा नजओस’, उनले भने, ‘पुरातात्विक महत्वको खोकनाबासीमाथि भइको अन्यायमा सरकार गम्भीर बनोस् ।’
annapurnapost


