, काठमाडौं
‘प्राचीन स्मारक ऐनअनुसार सम्पदा भत्काउन वा पुनर्निर्माण गर्न पुरातत्त्वको सहमति लिनुपर्छ,’ विभागका प्रमुख पुरातत्त्व अधिकृत दामोदर गौतम भन्छन्, ‘पुरातत्त्वको अनुमतिबिना भत्काइयो भने के हुन्छ भनेर हामीले भनिराख्नै पर्दैन । कानुनमै व्यवस्था छ । कारबाही हुन्छ ।’
प्राचीन स्मारक संरक्षण ऐनअनुसार सरकारको कब्जामा रहेको वा जिम्मेवारीको कागज भएको कुनै पनि प्राचीन स्मारक नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा कारबाही हुने व्यवस्था छ ।
ऐनको दफा १२ को सजाय महलमा यससम्बन्धी व्यवस्था छ । दफा १२ को खण्ड क मा ‘कुनै प्राचीन स्मारक नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगोबमोजिम रकम असुल गरी पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय’ हुने उल्लेख छ । महानगरले भने यो दरबार १ सय वर्ष नपुगेकाले पुरातत्त्वको अनुमति लिइराख्नु नपर्ने दाबी गरेको छ । ‘यसको निर्माण भएको सय वर्ष पुगेको रैनछ । हामीले यो पत्ता लगाएका छौं,’ महानगरका कार्यकारी अधिकृत धनीराम शर्मा पौडेल भन्छन्, ‘त्यही भएर पुरातत्त्वको अनुमति लिइराख्नु नपर्ने देखियो ।’
पुरातत्त्वले भने यसको इतिहास सय वर्ष नाघेको जनाएको छ । इतिहासविद्का अनुसार यो अमरसिंह थापाको पालामै बनेको हो । अमरसिंह थापाले यहाँ बनाएको दरबार सानो थियो पहिला । भीमसेन थापाको दरबारसँग नजिक सम्बन्ध भएपछि हनुमानढोका दरबार नजिकै पर्ने भएकाले यहाँ बस्न भीमसेन थापालाई थप १ सय २० रोपनी जग्गा दिएका थिए । बुवाले बनाएको घर भएको ठाउँमा भीमसेन थापाले थप भव्य भवन बनाउन लगाए । यही बेला भीमसेन थापाले धरहरा पनि बनाए । धरहरा र बागदरबारमा मुगल वास्तुकला भित्र्याएका थिए ।
विसं १८९४ मा भीमसेन थापाको पतन भयो । उनको पतनपछि यो दरबार सरकारीकरण गरिएको थियो । विसं १९०१ मा माथवरसिंह थापा प्रधानमन्त्री भए । माथवरसिंह प्रधानमन्त्री भएपछि भीमसेन थापाको हरण भएको सम्पत्ति फेरि थापाहरूको स्वामित्वमा आयो । माथवरसिंह थापा पनि भीमसेन थापाको यही दरबारमा बस्थे । माथवरसिंह थापाले दरबारमा एउटा पाटेबाघ पालेका थिए । त्यही भएर यो दरबारलाई स्थानीयवासीले बाघदरबार भन्न थालेको इतिहासकारहरूले बताएका छन् । बाघदरबारबाट अपभ्रंश भएर बागदरबार भन्न थालियो । यहाँ पछिसम्म पनि बाघको खोर थियो । राणाकालमा समेत यहाँ बाघ पाल्ने गरिन्थ्यो । ‘यो पुरानो दरबार हो,’ गौतम भन्छन्, ‘सय वर्ष नपुगे पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व राख्ने सम्पदा जोगाउने दायित्व पुरातत्त्व विभागको हुन्छ ।’
उपत्यकाका ४५ पुराना दरबारमध्ये राष्ट्र बैंक बसेको थापाथली दरबार र बालुवाटारको दरबार मात्रै भत्काउनुपर्ने सुझाव प्राविधिकले दिएका थिए । बाँकी दरबार रेट्रोफिटिङ गरेर जोगाउन सकिने थिए । बागदरबार भत्काउन पुरातत्त्व विभागले रोक लगाएपछि तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङको पालामा यो दरबारलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका थिए ।
महानगरले यसलाई भत्काउन टेन्डर आह्वान गरिसकेको छ । दुइटा कम्पनीले करिब ३ करोड रुपैयाँमा भत्काउन बोलपत्रसमेत हालिसकेको महानगरका एक कर्मचारीले जानकारी दिए । भुइँचालो आएपछि केही समय खाली भए पनि रंगरोगन गरेर अहिले दरबार महानगरले प्रयोग गरेको छ । यसलाई रेट्रोफिटिङ गर्न झन्डै १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको महानगरले जनाएको छ । ‘यसलाई भत्काएर नयाँ बनाउने निर्णय महानगर परिषदले गरिसकेको छ,’ कार्यकारी अधिकृत शर्मा भन्छन्, ‘त्यही निर्णयअनुसार हामीले भत्काउने प्रक्रिया अघि बढाएका हौं ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक बागदरबार नभत्काउन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । अमरसिंह थापाले बनाएको ऐतिहासिक बागदरबार काठमाडौं महानगरपालिकाले मास्न लागेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि रोक्न पत्र पठाएको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले पनि भत्काउनुपर्ने सम्पदा भत्काउने र टेकाउन सकिनेलाई रेट्रोफिटिङ गरेर जोगाउनुपर्ने निर्णय गरेको थियो ।
ekantipur


