, विर्तामोड
कार्तिक ११, २०७४-एक बालकको ‘रहस्यमय’ मृत्युको विषयमा भएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ ।
प्रशासन र आन्दोलनकारीबीच शनिबार सहमति भएसँगै स्थिति सामान्यीकरण हुँदै गएको छ । बिर्तामोडमा दुवैपक्षबीच भएको सहमतिअनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका नरेश थापामगरको परिवारलाई १० लाख रुपैयाँ दिने, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, ६ महिनाको बच्चालाई नगरपालिकाले नि:शुल्क अध्ययनको व्यवस्था मिलाउने छ ।
बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको छ ।
कर्फ्युको समयमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि झन् हिंसा भड्कन सक्ने भन्दै प्रशासन कार्यालयले शनिबार पनि कर्फ्यु जारी राखेको छ ।
झापाको अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिका कारण जिल्ला प्रशासन झापाले शुक्रबार दिउँसो साढे १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनको कर्फ्यु आदेशपछि बिर्तामोड क्षेत्र ठप्प छ । पूर्व-पश्चिम राजमार्ग पनि ठप्प छ ।
एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी सडकमा गुडेको छैन । बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
बालकको हत्या भएको दाबी गर्ने परिवार र स्थानीयवासीले शुक्रबार बिर्तामोडमा प्रहरीविरुद्ध प्रदर्शन गरेपछि घटना जटिल बनेको हो । घटनामा अर्जुनधारा(११ का नरेश थापामगरको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
घटनामा दानावारी इलामका ३५ वर्षीय मणि नेपाली गम्भीर घाइते छन् । उनको पेट, हात र पिठ्युँमा गोली लागेको छ । बीएण्डसी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । राजगढ- ८ का १८ वर्षीय सुनिल पाण्डे, अर्जुनधारा- ६ का ३५ वर्षीय पूर्ण लुइँटेल, मेचीनगर- ९ का ३० वर्षीय अशोक बस्नेत र दुर्गापुर- ५ का २२ वर्षीय नवराज कोइराला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले वालक हत्या घटनालाई ढाकछोप गर्न खोजेको पीडित पक्षको आरोप छ । दसैंको टीकाको दिन बेपत्ता अर्जुनधारा– ११ का शिवाकोटीको शव भोलिपल्ट बिर्तामोड– १ बैसावाडीस्थित झाडीमा फेला परेको थियो । बिर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद सिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्दै थियो ।
ekantipur




















