कांग्रेससँग चुनावी तालमेल गर्न भनी छलफलमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तराईमा ६० प्रतिशत स्थान आफूहरुलाई दिएमात्र चुनावी तालमेल गर्न सकिने बताएका छन्।
कांग्रेसका नेताहरुले भने त्यस्तो प्रस्ताव कुनै हालतमा स्वीकार्न नसकिने जवाफ दिएका छन्।
राजपा नेपाल र फोरम नेपालको संयुक्त गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि झापादेखि कञ्चनपुरसम्मका तराईका जिल्लामा ६० प्रतिशत स्थान दिनुपर्ने माग गरेको छ।
राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले भने, “मधेश त्यसमा पनि भित्री मधेशमा हाम्रो संगठन बलियो छ। त्यसैले हामीले त्यहाँ ६० प्रतिशत दिनुस् भनेका छौँ। पहाडमा त हाम्रो संगठन राम्रो नभएकोले माग्दैनौँ।”
स्थानीय चुनावमा छुट्टा-छुट्टै लडेपनि प्रदेश २ को नतिजाबाट उत्साहित देखिएका फोरम नेपाल र राजपा नेपाल प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि गठबन्धन गरेपछि आफूहरु बलियो अवस्थामा रहेको तर्क गर्छन्।
तर कांग्रेस नेताहरु ती दललाई संयुक्त रुपमा अधिकतम एकतिहाई स्थानसम्म दिन सकिने संकेत गर्छन्।
कांग्रेस नेता एवम् वाणिज्यमन्त्री मीन विश्वकर्माले भने, “उहाँहरुले धेरै नै माग्नुभयो भन्ने लागिसकेपछि हामीले फेरि बसेर छलफल गरौँ, वार्ता जारी छ।”
हालै कांग्रेस फर्किएका विजय गच्छदार, राप्रपा र राप्रपा प्रजातान्त्रिकको मात्रै होइन वाम गठबन्धनबाट रुष्ट बनेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पनि चित्त बुझाउनुपर्ने अवस्थामा कांग्रेस छ।
तिनै दलसँगको सन्तुलनमा नै कांग्रेस नेतृत्वमा बनाउने भनिएको गठबन्धनको भविष्य निर्भर देखिन्छ।
BBC




















