कैलासबावु श्रेष्ठ/गोरखा
असोज ३१ गते । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाढ तिहार आज देखी शुरु भएको छ । तिहारको पहिलो दिन आज सूचनाका संबाहक कागलाई घरमा पोकेको मिठो मसिनो खान दिएर शुरु हुने गर्दछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबार तथा यमपञ्चकको पहिलो दिन आज देखी ५ दिनसम्म यमराज मत्र्यालोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई आजको दिनमा संस्मरण गरीने गरिन्छ । कागलाई यमदूतका रूपमा पनि आज पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने ज्योतिषीय मान्यता रहेको छ । धर्म शात्र अनुसार काग पूजाका दिनबाहेक अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ तृप्त हुन्छन् भन्ने बिश्वास रही आएको छ ।

निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाइँछ । आजैका दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाउने वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ ।

यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ । पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।





















