गोरखापत्र समाचारदाता
काठमाडौ, असोज ३० गते । नेकपा (माओवादी–केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा माओवादीले तत्काल सरकार छाड्ने स्पष्ट पार्नुभएको छ । सोमबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै ‘माओवादी नैतिकताको आधारमा मात्र सरकारमा बसिरहेको’ दाबी पनि उहाँले गर्नुभयो ।
‘हामीले कांग्रेससँग सरकार गठन गर्दा यही सरकारले चुनाव सम्पन्न गराउने सहमति गरेका थियौँ,’ बैठकमा अध्यक्ष प्रचण्डले राख्नुभएको धारणा उधृत गर्दै बैठकका एक सहभागीले भन्नुभयो, ‘त्यही सहमति पालना गर्ने नैतिक जिम्मेवारीको कारण मात्र हामी सरकारमा बसिरहेका छौँ ।’
अध्यक्ष प्रचण्डले सरकार छाड्दा विगतको सहमति तोडेको तथा निर्वाचनको वातावरण बिगारेको आरोप लाग्ने भएकोले सरकारमा बसिरहनु परेको बताउनुभएको थियो । उहाँले कसैलाई सिध्याउन नभई समाजवाद निर्माणको आधार तयार गर्न नेकपा (एमाले)सँग गठबन्धन गरिएको बताउनुभयो ।
‘हाम्रो संविधानले पनि समाजवादको कल्पना गरेको छ । त्यसैले संविधान कार्यन्वयनका लागि संविधानको भावना अनुसार समाजवाद निर्माण गर्न यो गठबन्धन गठन भएको हो,’ प्रचण्डले बैठकमा भन्नुभयो, ‘यसले देशको विकास र संमृद्धिका लागि हो । कुनै प्रजातान्त्रिक शक्तिलाई पाखा पार्न वा सिध्याउन गरिएको होइन ।’
उहाँले निर्वाचनमा इमान्दारितापूर्वक गठबन्धनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने भन्दै विद्यार्थीहरुलाई संविधानको भावना अनुसार शिक्षा क्षेत्रको विकासमा लाग्न निर्देशन दिनुभएको थियो ।
एमालेसँग गरिएको निर्वाचनको तालमेल पार्टी एकतासम्म पुरयाउने स्पष्ट पार्दै उहाँले त्यसका लागि सैद्धान्तिक तथा राजनीतिक कार्यदिशाको बारेमा भने बृहद छलफल हुने बताउनुभयो ।
gorkhapatraonline


