राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए। उनले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप पनि लगाए।
उनले इरानले कहिल्यैपनि आणविक अस्त्र क्षमता हासिल गर्न नसकोस् भनेर आफुले सुनिश्चित गर्ने पनि बताए।
शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उनको प्रशासनले सो संझौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्ने बारे अमेरिकी कँग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसंग छलफल गरिने पनि बताए।
उनले दुई वर्ष अघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृ्त्व गरेको प्रशासनले इरानसंग गरेको आणविक संझौताको पनि कडा आलोचना गरे।
इरान संबन्धी नयां रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिंगटनले बन्द गरिदिने पनि बताए।
उनले इरानमाथि आतंकवादलाई बढावा दिएको आरोप पनि लगाए।
राष्ट्रपति ट्रम्पले इरानले उक्त सम्झौताको पालना गरिरहेको छ भनेर अमेरिकी कंग्रेसमा प्रमाणीकरण नगर्ने पनि बताए।
प्रतिबन्धहरु आंशिक रुपमा हटाइएको बदलामा आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न इरानले सहमति जनाएको उक्त परमाणु सहमतिलाई रद्द नगर्न राष्ट्रपति ट्रम्पमाथि स्वदेश र अन्तर्राष्ट्रिय स्तरबाट पनि दबाब परिरहेको छ।
गत वर्षको राष्ट्रपतीय निर्वाचन प्रचारका बेला उनले आफ्ना पूर्ववर्ती बाराक ओबामाका बेला इरानसंग गरिएको परमाणु सम्झौता भंग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रपति ट्म्पले अमेरिकाले संझौताको पालना गरेको तर इरानले सो संझौताको उल्लंघन गरेको आरोप पनि लगाए।
तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले इरानले सन् २०१५ मा गरिएको संझौताको पूर्ण पालना गरिरहेको जनाएका छन्।
बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिका अझै सो संझौताबाट औपचारिकरुपमा बाहिरिइसकेको छैन, तर दुई मुलुकहरुबीच शत्रुता अरु बढ्ने देखिन्छ।
BBC




















