विकास मरहट्टा
२७ असोज, गोरखा । ‘नागरिक पनि विना बर्दीका प्रहरी हुन् ।’ प्रहरीले बर्दी लगाएर राष्ट्रको सेवा गर्छन् भने नागरिकले बर्दी बिना । तर गोरखा नगरपालिका-६ का ८२ वर्षीय कान्छा बा उर्फ नारायणभक्त अर्यालसँग भने यो दुवै अनुभव छ । ३३ बर्ष सम्म नेपाल प्रहरी भएर राष्ट्रको सेवा गरेका उनले अवकाश पश्चात पनि निरन्तर प्रहरीको हकहितका लागी काम गरिरहे ।
२०४५ सालमा उनले प्रहरीको जागिरबाट अवकाश लिएका थिए । त्यस यता बिभिन्न संघसंगठनमा आवद्ध भएर सामाजिक कार्यमा लागेका उनी २०४८ साल बैशाखदेखि जिल्लाका भूतपूर्व प्रहरीहरुको हक अधिकारका निम्ति नेतृत्वदायी भूमिका खेल्दै आए ।२०१२ सालमा प्रहरी सेवामा जोडिएका अर्याललाइ अवकाश पछि पनि राष्ट्रको सेवा गर्ने धोको पुगेन । अवकाश पश्चात पनि उनी जिल्लामा पूर्व प्रहरी संगठनको नेतृत्व लिएर सेवामा तल्लिन छन् ।

संगठन स्थापना कालदेखि हालसम्म ६ पटक अधिवेशन भएपनि उनलाई नेतृत्वको जिम्मेवारी दिइँदै आइएको छ । पूर्व प्रहरीको हकहितका लासग उनले गरेको कार्य सराहनीय भएको भन्दै प्रशंसा गर्नेहरु पनि उत्तिकै छन् ।
६२आैं प्रहरी दिवसको अवसरमा आज उनी सम्मानित पनि भए । जिल्ला प्रहरी कार्यालय गोरखाले उनलाइ दोसल्ला ओडाएर सम्मान गर्यो । तर उनी सम्मानित भएको यो पहिले पटक होइन ।
हरेक बर्ष मनाइने प्रहरी दिवसको अवसरमा योगदानको कदर गर्दै उनी सम्मानित हुँदै आएका छन् ।
राष्ट्र प्रति आफूले गरेको सेवा वापद सम्मानित हुन पाउँदा उनी दंग छन् । ८२ बर्ष पुग्दा समेत राष्ट्रको सेवा गर्ने धोको नपुगेको बताउने उनी अझै सेवामा तल्लिन रहने बताउछन् ।
ब्राम्हणको छोरा अर्याल कसरी जोडिए प्रहरी सेवामा ?
गोरखा नगरपालिका वडा नम्वर ६ दरवारमार्ग घर भएका अर्याल अध्ययनको सिलसिलामा काठमाडौं बस्थ्ये । आफन्तको घरमा बसेका उनी एक दिन कोठा भाडामा बस्ने स्याङजाका साथीसँग काठमाडौ घुम्न निस्किए ।
बग्गीखाना पुग्दा मानिसको भिड देखेर के भएको रहेछ भनेर हेर्न जाँदा तत्कालीन प्रहरी प्रमुखसँग भेट भयो । प्रहरी प्रमुखले सोध्न भ्याइहाले, ‘के हेरेको केटा हो, प्रहरीमा जागिर खाने हो ?’ उनी पनि जागिर खाने अवसर गुमाउन चाहदैनथ्ये । सोध्न नभ्याउदै हुन्छ भनिहाले ।
अर्यालले हुन्छ भन्नासाथ प्रहरी प्रमुखले उनलाई हेड कन्स्टेवल (अहिले हवल्दार)को रुपमा पाँच नम्वर एरिया पोखराको एसपी अपिसमा खटाउन निर्देशन दिए ।
१८ बर्षको उमेरमा उनी हेडकन्स्टेवलको रुपमा २०१२ साल माघ १ गते पोखरा पुगे । तीन बर्ष पोखरामा कार्यरत भएसँगै उनी गोरखामा सरुवा भएर आए । १८ बर्ष सम्म उनी एउटै पदमा रही सेवा गरिरहे । २०३० सालमा उनी असईमा प्रमोसन भए र २०३६ सालमा सई भए ।
त्यसपछि २०४५ सालमा उनले प्रहरी सेवाबाट अवकाश लिए । जागिरको दौडान उनी बिभिन्न जिल्लामा रहेर सेवा गरे । ब्राम्हणको छोरा भएकाले प्रहरी निरिक्षकको पारिवारिक चिठ्ठीसमेत उनले लेख्ने गर्थे । प्रहरी चौकीदेखि हेडक्वाटरसम्म काम गरेको उनको अनुभव छ ।
प्रहरी सेवामा जोडिँदा उनको तलव ४७ रुपैयाँ थियो । अवकाश लिनु अघि सई हुँदा उनको एक हजार एक सय १५ रुपैया तलव थियो । अवकाश लिँदा ८०० पेन्सन पाउने उनले अहिले १७ हजार पाँच सय रुपैया पेन्सन लिन्छन् ।
प्रहरीबाट अवकाश लिए पनि हाल उनी जिल्लाका ४०० भन्दा बढी पूर्व प्रहरीहरुको नेतृत्व लिएर उनीहरुको हकहितका लागी लागी परेका छन् ।
‘मुस्किलले ज्यान जोगाएँ’
२०१८ सालमा गोरखाको ठाँटीपोखरीमा ‘अराष्ट्रिय’ तत्व नियन्त्रण गर्न जाँदा उनी मुस्किलले ज्यान बचाएर भागेका थिए । २०१७ सालमा राजा महेन्ऽले सत्ता आफ्नो हातमा लिएर सम्पूर्ण पार्टीहरुलाई प्रतिबन्ध लगाएपछि असहज परिस्थिति सृजना भयो ।
तत्कालीन सरकारी भाषामा त्यस्तै पार्टीका कार्यकर्तालाई अराष्ट्रिय तत्व भनिन्थ्यो । उनीहरुलाई नै नियन्त्रण गर्न जाँदा उनी घेराबन्दीमा परेका थिए । मुस्किलले ज्यान जोगाउन सफल भए ।
गोरखामा पनि प्रहरी दिवस मनाइयो
६२ औ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बिभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा भूतपूर्व प्रहरी नारायण भक्त अर्याल र बैकुण्ठ अर्याल सम्मानित भएका छन् ।

दिवसकै अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक मोहनबहादुर खड्का, ओमबहादुर घिमिरे, प्रहरी सहायक निरीक्षक काजीमान श्रेष्ठ, प्रहरी हवल्दार केदारबहादुर भट्ट, एक नारायण कुमाल, प्रहरी जवानहरु बिष्णु थापा, महेन्ऽ राम्जाली, टोप बहाुदर अधिकारी र सिम्रन राय रहेका छन् ।
त्यस्तै दिवसको पूर्वसन्ध्यामा भएको दौड प्रतियोगीताका बिजेताहरुलाइ पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले आगामी दिनमा प्रहरीले नागरिक मैत्री कार्यक्रमलाइ प्राथमिकता दिदै नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
onlinekhabar


