×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘एमाले र माओवादी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना कायमै’

  •  
  • बिहिबार, असोज २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • शंकर पोखरेल भन्छन्- कृष्ण सिटौलाले साम्यवादको भूतसँग तर्सिनु पर्दैन

    २६ असोज, काठमाडौं । एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादका व्याख्याता मानिन्छन्, स्थायी समिति सदस्य शंकर पोखरेल । पछिल्लो समय एमाले-माओवादी एकता प्रक्रिया चलेपछि उनी जबज मात्र होइन, माओवादीले चुनवाङ बैठकबाट पारित गरेको एक्काइसौं शताब्दीको जनवादको पनि व्याख्या गर्न थालेका छन् ।

    एमाले र माओवादीबीच रणनीतिक एकता भइसकेको र अब प्राविधिक काम मात्र बाँकी रहेको पोखरेलले खुलासा पनि गरे । एमाले-माओवादी एकता चुनावी तालमेलका लागि जलप मात्र हो र उनीहरु मिल्ने आधार छैन भन्ने बहस चलिरहेका बेला पोखरेलसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीःदुई पार्टी एकताको आधार नै जबज र एक्काइसौं शताब्दीको जनवाद भएको बताउने उनी मुलुकको समृद्धिका लागि चिनियाँ मोडेल आवश्यक हुने तर्क गर्छन् । यद्यपि, चीनमा जस्तै कम्युनिस्ट पार्टीको मात्र शासन भने अहिले नै कल्पना नगरिएको पोखरेल बताउँछन् ।

    यो एकता माओवादीको आवश्यकता र एमालेको बाध्यताबाट आइलागेको भाउँतो हो ?

    मुलुकको आवश्यकताले हामीलाई एक ठाउँमा ल्याएको हो । अहिलेको राजनीतिक समीकरण खासगरी वामपन्थीहरुबीचको एकता र चुनावी तालमेल मुलुकलाई समृद्धिको बाटोबाट समाजवादी दिशातर्फको पहल हो भनेर बुझ्नुपर्छ ।

    अहिले संविधान कार्यान्वयनको बेला कांग्रेसलाई एक्ल्याएर र वाम लोकतान्त्रिक धु्रवीकरण गरेर मुलुकको समृद्धि सम्भव हुन्छ ?

    हामीले संविधान निर्माण र कार्यान्वयनको चरणसम्म कांग्रेससँग सहकार्य जारी राख्न सकिन्छ भन्यौं । त्यो मान्यता अहिले पनि कायमै छ । तर, त्यसमा कांग्रेस मानेन । संविधान निर्माणपछि दुई प्रमुख दल सरकारमा सँगै जानु हुँदैन भन्ने सिद्धान्त नै बनाएर कांग्रेसले एमालेसँगको सहकार्य तोडेको हो । त्यो मूलतः सत्तास्वार्थ आधारित थियो, सैद्धान्तिक थिएन । कांग्रेसका कारण संविधान कार्यन्वयनमा सहकार्यको प्रश्न अन्त्य भयो ।

    जहाँसम्म धु्रवीकरणको कुरा छ, मुलुक रुपान्तरणका लागि आर्थिक सामाजिक मुद्दा प्रधान भए । कांग्रेस एक प्रकारको आर्थिक सामाजिक प्रणालीको हिमायती, एमाले र अन्य वामपन्थी अर्कोखाले आर्थिक सामाजिक प्रणालीका हिमायती ।

    एमालेको नेतृत्वमा अगाडि बढाउन खोजिएको आर्थिक सामाजिक प्रणालीको पक्षमा जाने कि कांग्रेस नेतृत्वको प्रणालीको पक्षमा जाने भन्ने अबको बहस हो । यो बहसमा हामी वापमन्थी एक ठाउँमा उभिनैपर्ने थियो । हामीले संविधान कार्यान्वयनपछि मात्र धु्रवीकरणको कुरा सोचेका थियौं तर कांग्रेसले अहिले नै गराइदियो ।

    संविधान कार्यान्वयनका लागि त वाम लोकतान्त्रिक एकता आवश्यक होइन र ?

    वाम प्रजातान्त्रिक एकताको आधार कांग्रेसले भत्काइदियो । अब आर्थिक सामाजिक रुपान्तरणका लागि वामपन्थी गठबन्धन आवश्यक भयो । कांग्रेसले वाम प्रजातान्त्रिक एकताको आवश्यकतालाई कथित संसदीय अभ्यासका नाममा लत्याएपछि हामी एमाले र माओवादी एक हुने आधार बनेको हो ।

    भविष्यमा हुनुपर्ने ध्रुवीकरणलाई कांग्रेसले अहिले नै ल्याइदियो । ढिलोचाँडो यो ध्रुवीकरण त हुनु नै थियो तर हामी संविधान कार्यन्वयनसम्म यो धु्रवीकरण चाहँदैनथ्यौं ।

    एमाले र माओवादीबीचको यो एकताबाट नेता दंग, कार्यकर्ता भरंग भएजस्तो देखियो नि ?

    त्यो त विगतको दृष्टिकोणबाट ज्यादा चिन्तित भएको कारणले पनि हो । दुई भिन्न राजनीतिक कार्यदिशाबाट आएका कम्युनिस्ट पार्टीका कार्यकर्तामा यस्तो कुरा केही समय रहन्छ । अर्को कुरा के पनि भयो भने शान्ति प्रक्रियापछि माओवादीले कांग्रेससँगको सहकार्यमा बढी जोड दियो ।

    शान्ति प्रक्रियाको एउटा पक्ष भन्ने नाममा माओवादीले जसरी कांग्रेससँगको सहकार्यलाई जोड दियो त्यसले एमाले र माओवादी कार्यकर्ताबीच स्थानीय स्तरमा बढी नै ‘टसल’ भयो । फेरि वामपन्थी पार्टीमा जब मतभेद हुन्छन्, त्यो निकै तीतो ढंगले प्रकट हुन्छ र कहिलेकाहिँ असहिष्णु पनि बन्छ ।

    तर, एमाले र माओवादी दुवै पक्षका कार्यकर्ताले के बुझ्नुपर्छ भने वैचारिक सैद्धान्तिक प्रश्नमा एक ठाउँमा पुग्न सक्छौं/सक्दैनौं भन्ने मुख्य कुरा हो । सम्बन्धहरु त व्यावहारिक रुपमा मिल्दैछन् । यसमा धेरै चिन्तित हुनु पर्दैन ।

    कांग्रेसको बुझाइ त तपाईंहरुको यात्रा अब साम्यवादतर्फ गयो भन्ने छ, हामीसँगै कांग्रेेस नेता कृष्ण सिटौलाले साम्यवादको बाटो ब्लक गर्छौं भन्नु भयो नि ?

    उहाँको बुझाइमा त्रुटी छ । नेपालको सन्दर्भमा सबैभन्दा ज्यादा लोकतन्त्रका लागि लडेको र अभ्यास गरेको पार्टी एमाले हो । कांग्रेसको आवरण लोकतान्त्रिक छ तर व्यवहारमा अत्यन्तै अलोकतान्त्रिक र सामन्ति संस्कार छ ।

    कांग्रेसको नेतृत्वको आधार भनेको नेपालको सम्भ्रान्त वर्ग हो । उसले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न चाहँदैन । लामो संघर्षबाट आएका जमिनी कार्यकर्ता त्यहाँ टिक्न सक्दैनन् ।

    जस्तोः विश्वेश्वरप्रसाद कोइरालाको विरासत भन्यो भने राजनीति नगरे पनि ऊ नेता हुन सक्छ । तर, लामो जेल जीवन बिताएर र संघर्ष गरेर आएका नेता/कार्यकर्तालाई कांग्रेसभित्र टिक्न गर्न गाह्रो छ ।

    एमालेमा जमिनी कार्यकर्ताको तहबाट नेतृत्व चयन हुन्छ । यहाँ एउटै नेता वा परिवारको निरन्तरता हुँदैन । लोकतान्त्रिक प्रक्रियाका सन्दर्भमा कांग्रेस त एमालेको छेउमा पनि आउन सक्दैन ।

    होइन, हामीले साम्यवादको सन्दर्भमा प्रश्न गरेको हो । तपाईंहरुको यात्रा त्यतातिर हो ?

    रह्यो अब साम्यवादको प्रश्न । हामी आफैंले समाजवादको आधार तयार गर्ने भन्दैछौं । साम्यवाद त सुदूर भविष्यको कुरा हो । अहिले नै साम्यवादको भूत देखाएर तर्साउने कुरा भनेको पूँजीवादी दुनियाँको परम्परागत हुँइया मात्र हो । उहाँ -सिटौला)ले साम्यवादवको भूत देखाएर कसैलाई तर्साउन जरुरी छैन ।

    एमालेले जनताको बहुदलीय जनवादको अभ्यास गरेको धेरै भइसक्यो । माओवादीले भनेको एक्काइसौं शताब्दीको जनवाद लोकतान्त्रीकरणतर्फको यात्रा हो, जुन माओवादी आफैंले रोजेको बाटो हो । एमाले त ०४९ देखि नै मदन भण्डारीको नेतृत्व सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमा उभिएको र अभ्यास गर्दै आएको पार्टी हो । साम्यवादको कुरा काल्पनिक सन्त्रास हो, यसबाट सिटौलाजीहरु डराउनु पर्दैन ।

    तर, तपाईंहरु दुईतिहाइ बहुमत ल्याएर वामपन्थी सत्ता कब्जाको मानसिकतामा जानुभयो भने नि ?

    वामपन्थी एकताबाट कोही आत्तिनु जरुरी छैन । जहाँसम्म पार्टी एकीकरणको कुरा छ, अधिकारप्राप्तिको आन्दोलनमा जति वटा पार्टी भए पनि हुन्छ । किनकि, सबैको उद्देश्य राज्यलाई कमजोर बनाउने र आन्दोलन सफल पार्ने हुन्छ । तर, जब आर्थिक सामाजिक समृद्धि र राजनीतिक स्थायित्वको कुरा आउछ, त्यहाँ धेरै पार्टीको काम छैन ।

    अमेरिका, बेलायतको मोडेल हेरौं, त्यहाँ दुई दलको प्रतिस्पर्धा हुने गरेको छ । चीनमा हेर्नुस्, उसको समृद्धि राजनीतिक प्रणालीका कारण सम्भव भएको हो । उहाँहरु -कांग्रेस) चिनियाँ कम्युनिस्ट पार्टीलाई अधिनायकवादी देख्नुहुन्छ । बाँचुञ्जेल सभापतिको कुर्सी नछाड्ने उहाँहरुको पार्टी डेमोक्रेटिक देख्नुहुन्छ ।

    भनेपछि तपाईंहरु चीनजस्तै अधिनायकवादी बाटोमा जान खोजेको ?

    आजको चीन अधिनायकवादी बाटोमा छ भन्ने पुष्टि गर्ने आधार केही भए बताउनुस् ।

    त्यहाँ बहुदलीय प्रतिस्पर्धा छैन, कम्युनिस्टको मात्र छ भनिन्छ नि ?

    त्यहाँ अन्तरपार्टी जनवाद अभ्यास गरेका छन् । नेतृत्वमा लगातार परिवर्तन भइरहेको छ । एउटा नेता लगातार दुई कार्यकालभन्दा बढी पार्टी र सरकारको नेतृत्वमा रहन पाउँदैन । त्यो अधिनायकवाद होइन ।

    वामपन्थीले दुईतिहाइ ल्याएर अधिनायकवाद आउने खतरा महशुस भयो रे त सबैलाई ?

    सबै ठूला तानाशाह पूँजीवादी प्रजातन्त्रकै नाममा जन्मिए । हिटलर कम्युनिस्ट थिए ? मुसोलिनी कम्युनिस्ट थिए ? सुहार्तो कम्युनिस्ट थिए ? आरोपचाहिँ कम्युनिस्टलाई लाग्यो ।

    आजको सन्दर्भमा उत्तर कोरिया मोडेलको शासन नेपालका कुनै पनि कम्युनिस्टले कल्पना गरेका छैनन् । उत्तर कोरियाको निकट नारायणमान बिजुक्छे पनि हुनुहुन्न । हामी नेपालमा एकदलीय प्रतिस्पर्धा गर्ने पक्षमा छैनौं ।

    कांग्रेसको धारलाई पराजित गरेर शासन गर्न चाहन्छौं । कांग्रेसलाई निषेध गरेर होइन । प्रचण्डजी उहाँसँग जोडिँदा लोकतान्त्रिक हुने, एमालेसँग मिल्दाचाहिँ अधिनायकवादी भइहाल्ने सोचाइ नै पराजित मानसिकता हो ।

    कांग्रेससँग मिलिरहेको माओवादीलाई तपाईंहरुले कसरी फुत्काउनुभयो ?

    उहाँहरुले सत्ता गठबन्धनको औचित्य प्रमाणित गर्न सक्नु भएन । अलोकतान्त्रिक अभ्यासतर्फ जानुभयो । अदालतको स्वतन्त्र भूमिका नै पछिल्लो समयमा देखिन छाड्यो । सत्ता जे गर्छ, अदालतको रबरस्टाम्पको रुपमा प्रयोग भयो । प्रशासनको भूमिका सिध्याउन खोज्नुभयो । मुख्यसचिवस्तरको कर्मचारीलाई सहसचिवसरहको ठाउँमा पठाइयो । मुलुकको कर्मचारी प्रशासनलाई सिध्याउने खेल हो त्यो ।

    अर्कोतर्फ, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुभयो । प्रहरी संयन्त्रभित्र अस्तव्यस्तता सिर्जना गर्नुभयो । निर्वाचन आयोगको भूमिकालाई विवादास्पद बनाउनुभयो । शक्ति पृथकीकरणको सिद्धान्त कोल्याप्स पार्न खोज्नुभयो । यसबाट मुलुक जोगाउन प्रतिपक्षको भूमिका थियो, हामीले त्यो रोक्न यो काम हामीले गरेकै हो, यो गर्नु आवश्यक थियो ।

    भरतपुर प्रकरणले पनि तपाईंहरुलाई साह्रै रियाक्टिभ बनायो होइन ?

    कांग्रेसको वास्तविक अवस्था के रहेछ भन्ने बुझ्ने मौका भरतपुर प्रकरणमा पाइयो होला । भरतपुर महानगरको कार्यपालिका चुनावमा एमालेले बहुमत पायो । एमालेको एक्लै बहुमत त थिएन । त्यहाँ त कांग्रेसले आफ्नो कार्यकर्तालाई विश्वासमा लिएको देखिएन ।

    कार्यकर्तालाई विश्वासमा नलिई गठबन्धन गरिएको त पुष्टि भयो । आफूले कार्यकर्तालाई विश्वासमा लिन नसक्ने तर परिणाम हात पार्न राज्यका सबै संयन्त्र दुरुपयोग गर्नुभयो, देउवाजीले । यदि कार्यकर्ताको विश्वास लिएर माओवादीसँग तालमेल गरेको भए चुनाव जिताउन (रेणु दाहाललाई) उहाँले सत्ताको त्यो हदसम्मको दुरुपयोग गर्नुपर्ने थिएन ।

    जे भने पनि अहिले तपाईंहरुको एकताको आधार भनेको चुनाव जित्न र कांग्रेसलाई माओवादीको साथ रोक्नका लागि होइन र ?

    होइन, चुनावी एकता भनेको परस्परको लाभमा आधारित हुन्छ । अहिलेको चुनावी एकता चुनावी तालमेलमा सीमित छैन । त्यो पछिसम्मको राजनीतिक उद्देश्यमा आधारित छ ।

    हामी सिटको तालमेल मात्र गरिराखेका छैनौं । संयुक्त चुनावी घोषणापत्र तयार गरिरहेका छौं । एउटै नीतिमा चुनावमा जाँदैछौं । त्यो भनेको दुइटा पार्टीबीचमा सिटको तालमेलका रुपमा मात्र यसलाई नबुझौं । संयुक्त घोषणापत्र भनेको त धेरैमाथिको कृरा हो । एउटै चिन्हमा जाने कोशिसमा छौं । माओवादी प्राविधिक रुपमा नआए पनि राजनीतिक रुपमा एउटै चिन्हमा लड्न सहमत भइसकेको छ । भविष्यमा एउटै पार्टी बनाउन सहमत भइसकेका छौं ।

    लामो प्रक्रियामा पार्टी एकता हुन सक्छ भन्ने हो ?

    हामी जुन एकता प्रक्रियामा जाँदैछौं, रणनीतिक मोर्चाका रुपमा हामी एउटै चुनावी गठबन्धन बनाएर जाँदैछौं । एउटै घोषणापत्र बनाउने भनेको पाँच वर्ष हामी एउटै नीतिबाट सत्ता चलाउछौं भन्ने हो । पार्टी एकीकरण भएन भने पनि पाँच वर्षका लागि हामी एउटै नीतिमा रहन्छौं । रणनीतिक एकतालाई पार्टी एकीकरण गर्ने मिसनमा छौं ।

    तर, भोलि चुनावमा एमालेको मात्रै सामान्य बहुमत आयो भने उसलाई माओवादी नचाहिने र माओवादी निणर्ायक सिट बोकेर आएमा उसले कांग्रेस र एमालेलाई खेलाउने सम्भावना पनि त छ नि ?

    त्यस्तो हुँदैन । संयुक्त चुनावी घोषणापत्र भनेको एकप्रकारले रणनीतिक मोर्चाको कुरा हो । हामी हार्‍यौं भने दुवै प्रतिपक्षमा रहने, जित्यौं भने दुवै सत्तामा जाने नै रणनीतिक मोर्चा हो । हामी जित्यौं भने संयुक्त रुपमा सरकार सञ्चालन गर्छौं र त्यही अवधिमा पार्टी एकता गर्छौं । हार्‍यौं भने पाँच वर्षसम्म सशक्त प्रतिपक्ष बनेर काम गर्छौं ।

    कांग्रेसले माओवादीलाई केही सिट दिएर तालमेल गर्दा तपाईंहरु पाँच वर्ष सत्ताबाहिर रहने डरले एकताका लागि बाध्य पारेको होइन र ?

    त्यस्तो प्रकारको तालमेलको त हामीले सामना गरेरै स्थानीय तहमा पहिलो पार्टी भएका हौं । राष्ट्रिय चुनावमा त झनै राष्ट्रिय मुद्दामा बहस हुँदा एमाले पहिलो पार्टी बन्ने निश्चित थियो । तर, त्यसभन्दा माथिबाट सोचेका हौं । राष्ट्रलाई बलियो र स्थिर बनाउन दुइटा ठूला वामपन्थी दल एक ठाउँमा हुनुपर्छ भन्ने सोचेर गरिएको हो ।

    मधेश आन्दोलनका अगुवा हृदयेश त्रिपाठीहरुको समूह पनि एमालेको सूर्य चिन्हबाट चुनाव लड्दैछन् । उनीहरुको मुद्दा संविधान संशोधन हो । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको छ । यी मुद्दामा एमाले मिलिसकेको हो ?

    संविधान कार्यान्वयन प्राथमिक प्रश्न हो भन्ने कुरालाई राष्ट्रले स्वीकार गरिसकेको छ । संविधान संशोधन नभई चुनाव हुनै सक्दैन भन्ने कुरा जनताले खण्डित गरिसकेका छन् । स्थानीय चुनावमा जनताको ठूलो सहभागिता रह्यो र त्यसमा पनि प्रदेश २ कै चुनावमा बढी सहभागिता भयो । सूर्य चिन्हबाट चुनाव लड्न चाहेका मधेश आन्दोलनका अगुवाहरुले यो सत्य स्वीकार गर्नुभएको छ ।

    सामाजिक न्यायका मुद्दामा हामी सधैं मधेश आन्दोलनका अगुवाहरुसँगै छौं । त्यसैले, उहाँहरु अहिले हामीसँग सहकार्यमा आउनुभएको छ । जनतालाई सशक्तिकरण गर्ने सन्दर्भमा हामी सँगै काम गर्न सक्छौं भनेरै हृदयेश त्रिपाठीहरुसँग सहमति भएको हो । मधेश आन्दोलनका योद्धाहरुले एमालेसँग आत्तिनुपर्ने आवश्यकता छैन ।

    संविधान संशोधनको सन्दर्भमा राष्ट्रलाई हानी नपुग्ने, समाजलाई विभाजित नगर्ने सन्दर्भमा एमाले आफैं आग्रसर भएर संविधान संशोधन गर्छ । एमालेले कबुल गरेर दुई बुँदामा संविधान संशोधन गरेको हो । अरु बोल्छन्, हामी काम गरेर देखाउँछौं ।

    मधेश आन्दोलनमा सबैभन्दा बढी प्रहार एमालेको ब्रान्डमाथि भयो । अहिले उहाँहरु एमालेसँग सहकार्यमा आउनु भनेको मधेश आन्दोलनको त्यो प्रवृति गलत रहेछ भन्ने पुष्टि भएको छ ।

    अनि प्रत्यक्ष निर्वाचित कार्यकारीबारे ?

    प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अहिले हामी प्रवेश गरेका छैनौं । पहिले संविधान कार्यान्वयन गरौं । मुलुकलाई फेरि संक्रमणतर्फ धकेल्ने कुरा उचित हुँदैन । मुलुकले एक प्रकारको राजनीतिक स्थायित्व प्राप्त गरेपछि शासन सञ्चालनको प्रणालीमा चुनौति उत्पन्न भएमा जान सकिन्छ । तर, अहिले जुन प्रणालीबाट अगाडि बढ्न खोजेका छौं, त्यसैमा जाऊँ, राजनीतिक स्थ्ाायित्वतर्फ नै जाऊँ । भोलि अप्ठ्यारो परेमा परिवर्तन गर्न सकिन्छ ।

    माओवादीका नेता गोपाल किरातीले माओवाद र पहिचान एमालेले स्वीकार नगरे एकता नहुने बताए । प्रचण्डले मिलाउँछु भनेर फर्काए । खास कुरा के हो, यसमा ?

    इतिहासलाई हेक्का राख्नुपर्छ तर त्यसको भार बोकेर भविष्यलाई बोझपूर्ण बनाउनु हुँदैन । एक रुसी विद्धानले भनेका छन्, इतिहासले कसैलाई सिक्न बाध्य पार्दैन तर इतिहासबाट जसले सिक्दैन, उसले दुःख पाउँछ ।

    भविष्यका कुरामा हामी एक ठाउँमा छौं भने इतिहासको

    समीक्षा त गर्दै गरौंला । माओवादी आन्दोलनका विरासत बोकेरै हामी शान्ति प्रक्रियामा छौं । त्यो यथार्थ हो तर त्यसको भार बोकेर कहाँसम्म जाने ?

    विमतिका प्रश्नमा भन्दा एकरुपतामा हामीले बहस गर्नुपर्छ । एक्काइसौं शताब्दीको जनवाद र बहुदलीय जनवादबीच ठूलो अन्तर छैन । यही आधारमा टेकेर हामी अगाडि बढ्ने हो ।

    एमालेमा विलय हुने हो कि हताशा त माओवादीमा देखियो नि ?

    यो कुरा जनताको बहुदलीय जनवादले मान्दैन । हिजो माओवादी आन्दोलनका साथीहरुले एमालेलाई सके निल्ने नसके मिल्ने भन्नुभयो । तर, हामी त्यसो भन्दैनौं । माओवादी अध्यक्ष प्रचण्डले पटक-पटक यो पार्टी विघटन गर्छु, नयाँ बनाउछु भनिरहनु भएकै छ । माओवादी केन्द्र विघटन भन्ने हो भने उसको विरासतमा जोडिएका सबै भारी बोक्ने हो भने त किन विघटन गर्ने ? मलाई विश्वास छ एकताप्रति प्रचण्ड प्रतिबद्ध हुनुहुन्छ ।

    तालमेलमै पनि थोरै भोट भएको माओवादीलाई धेरै भोट हाल्नुपर्ने एमालेका कार्यकर्ताको गुनासो देखियो नि ?

    तालमेलका सन्दर्भमा ठूलो समस्या छैन, प्राविधिक कुरा मिलाउन सकसपूर्ण हुन्छ । तर, बृहत राजनीतिक उद्देश्य पूरा गर्ने सन्दर्भमा यी कुरा गौण हुन् । भोटै नभएको ठाउँमा पनि माओवादी उम्मेदवारलाई भोट हाल्नुपर्छ । आखिर भोलि एउटै पार्टीको कमरेड हुने हो । भोलि एउटै पार्टीमा हुने कमरेडलाई भोट हाल्दैछु भन्ने बुझ्पर्छ, त्यसमा समस्या छैन ।

    एउटै चुनावी चिन्हमा छलफल गर्दैछौं । यद्यपि, यसलाई ठूलो विषय बनाएका छैनौं । एउटै चुनाव चिन्ह हुँदा मतदातालाई एक ठाउँमा उभ्याउन सहज हुन्थ्यो भन्ने कुरा हो ।

    सूर्य चिन्ह लिएर जाने कुरा त टरिसकेको होइन र ?

    टरिसकेको छैन । एउटै चुनाव चिन्हमा लड्ने भनेर सहमति जनाइसकेको विषय हो, उहाँले पार्टीलाई विश्वासमा लिन समय लागेको हो । उहाँले आफ्नो पार्टीलाई विश्वासमा लिनुभयो भने अझै पनि त्यो सम्भव छ । यसमा अहिले पनि छलफल भइरहेको छ । हामी दुई पार्टी मिलेर चुनाव लडेका हौं भन्ने बुझेपछि अरु कुरा तपसिलका हुन् ।

    एकीकरणपछि प्रचण्ड र केपी ओलीको व्यवस्थापन कसरी हुन्छ ?

    एमालेले तीन जना प्रधानमन्त्रीलाई व्यवस्थापन गरिरहेको छ । तीन वटा पार्टी प्रमुखलाई व्यवस्थापन गरेको छ । दुई जना प्रधानमन्त्री थपिने कुरा पनि त्यसैगरी व्यवस्थापन हुन्छ । यो पार्टीले हरेक व्यक्तित्वको व्यवस्थापन गर्ने सामथ्र्य राख्छ । दीर्घकालीन व्यवस्थापन भनेको त जसले कार्यकर्ताको विश्वास आर्जन गर्छ, उही नेता हुन्छ ।

    अनि सीपी मैनाली, मोहनबिक्रम सिंह, नारायणमान बिजुक्छेहरुलाई चाहिँ एकतामा नल्याउने ?

    त्यसका लागि उहाँहरुले निःशर्त रुपमा यो प्रक्रियामा सामेल हुन मञ्जुर गर्नुभयो भने सम्भव छ । उहाँहरुको भूमिका नत्र राष्ट्रिय राजनीतिका सन्दर्भमा एउटा प्राज्ञिक स्कुलका रुपमा सीमित रहन्छ, राजनीतिक स्कुल हुँदैन । थ्रेस होल्डसहितको राजनीतिक प्रणालीको विकास भइसकेको छ ।

    प्रचण्डले एउटै चुनाव चिन्ह लिन सहमति हुँदा पनि पार्टीमा मनाउन सक्नु भएन, भोलि पार्टी एकतामा पनि त त्यस्तै होला नि ?

    माले-माक्र्सवादी एकता हुँदा पनि असहमति भएका थिए । तर, उनीहरु राजनीतिक वृत्तबाट कहाँ पुगेका छन् ? मुलुकको आवश्यकता हो, अब एकता रोकिँदैन । रणनीतिक रुपमा यो सफल भइसकेको छ ।

    केही व्यक्ति असहमत रहने, अलग हुने कुरा सामान्य हो । मुख्य नेतृत्व एकता हुन तयार भएपछि त्यससँग असहमत गौण प्रवृत्ति हो । भोलि एमालेबाट पनि कोही असहमत हुन सक्लान् । जो प्रवाहमा पौडिन सक्छ, पार गर्ने उद्देश्यका साथ सरजाम बोकेर हिँड्न तयार हुन्छ, ऊ सफल हुन्छ । सरजाम नबोक्ने हो भने डुब्छ । यो एकतामा पनि जो तयार हुँदैन ऊ इतिहासको प्रवाहमा डुबेर बिलाउनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.