- खुलेआम उत्पादन, निष्फिक्री बिक्री
स्थानीयका अनुसार बर्खामा गाँजाको व्यावसायिक खेती गरिन्छ । असोज पहिलो सातादेखि कात्तिक अन्त्यसम्म त्यही गाँजाको चोपबाट चरेस तयार गरिन्छ । जिल्लाका प्राय: सबै जसो ठाउँमा गाँजा खेती हुने गरेपनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन ।
जिल्लाका अधिकांश गाउँमा फाँटका फाँट गाँजा खेती गरिएको सहजै देख्न सकिन्छ । कति क्षेत्रफलमा यसको खेती गरिन्छ भन्ने एकिन तथ्यांक नभए पनि जिल्लाभर २ हजार ५ सय हेक्टर बढी क्षेत्रफलमा खेती हुने गरेको कृषि विकास कार्यालयका एक कर्मचारीले बताए । ‘हामीले सर्भे त गराएका छैनौं । सबैतिर घुमेका आधारमा २ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती हुन्छ भन्ने कुरा एउटा प्राविधिकलाई अनुमान गर्न गाह्रो हुँदैन,’ उनले भने ।
बझाङको छान्ना क्षेत्रमा व्यावसायिक रूपमा गरिएको गाँजा खेती । तस्बिर : वसन्तप्रताप सिंह /कान्तिपुर ।
साबिकका सुर्मा, दौलीचौर, काँडा, मेलबिसौना, दातोला, रिलु, कैलाश, गडराय, बाँझ, भामचौर, दहबगर, लेकगाउँ, सैनपसेला, चैनपुर, रिठापाटा, सुनिकोट, स्याडी, देउलेक, कफलसेरी, देउलीकोटलगायत गाविसमा व्यावसायिक रूपमै गाँजा खेती गरिन्छ । आफैं उम्रिएको जंगली गाँजासमेत गरी बझाङमा वार्षिक २ सय क्विन्टलभन्दा बढी चरेस उत्पादन हुने यसको अवैध कारोबारमा संलग्न एक व्यापारीले बताए ।
सहजै निकासी
उत्पादन र सहजै निकासी हुने भएकाले ठूला तस्करहरूले चरेसमा करोडौं लगानी गरेको स्रोतले जनाएको छ । घरघरबाट स्थानीय संकलकहरूले तोलाको हिसाबले संकलन गरेर जिल्लाका व्यापारीलाई बिक्री गर्छन् ।
जिल्लाका व्यापारीलाई १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोका दरले चरेस बेच्ने गरेको स्थानीय संकलकहरूले बताए । जिल्लास्थित ठूला व्यापारीहरूले कञ्चनपुरको वनवासा, दोधारा चाँदनी तथा कैलालीका गौरीफन्टा, तिकुनिया, चन्दनचौकी र बैतडीको झुलाघाट नाकाबाट चरेस भारत तस्करी गर्छन् ।
गाँजाको पातबाट चरेस उत्पादन गर्दै मस्टा क्षेत्रका महिला तथा बालिकाहरू । तस्बिर : वसन्तप्रताप सिंह /कान्तिपुर ।
बझाङदेखि भारतसम्म चरेस सप्लाइ गर्नेहरूको सञ्जालमा बझाङमा चल्ने सार्वजनिक यातायातका सञ्चालकदेखि तराईका होटल व्यवसायी, राजनीतिक दलका नेता, सुनचाँदी व्यवसायी, हार्डवेयर पसले र टाँगावालासम्म रहेको स्रोतको भनाइ छ ।
केही दिनअघि मात्र १ सय २० किलो चरेस वनवासा पुर्याएर आएका एकजना व्यापारीले भने, ‘बझाङबाट महेन्द्रनगरसम्म बसले प्रतिकिलो १ हजारका दरले भाडा लिन्छ । महेन्द्रनगर पुर्याइसकेपछि भारतीय व्यापारीको जिम्मा लगाइन्छ ।’ महेन्द्रनगरसम्म पुर्याइसकेपछि प्रतिकिलो २० हजार भारु अर्थात् ३२ हजार नेपाली रुपैयाँ पाइने गरेको उनले बताए । कतिपय नेपाली व्यापारीहरूले भारतको हरिद्वार, पलिया र हल्द्वानीलगायत ठाउँसम्म पनि आफैं पुर्याइदिने गरेको र त्यहाँ पुर्याएपछि प्रतिकिलो भारु ३५ देखि ४० हजार रुपैयाँसम्म पाइने गरेको उनले बताए ।
प्रहरी कारबाही फितलो
बझाङ जिल्लामा सबैभन्दा ठूलो परिमाणमा २०६८ साल मंसिरमा चरेस बरामद गरिएको थियो । मंसिर ४ र ७ गते गरी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले २ सय ५३ किलो चरेससहित १० जनालाई पक्राउ गरेको थियो । त्यसयता २०६९ सालमा करिब ६५ किलो चरेस बरामद गरेको देखिन्छ ।
जिल्ला बाहिर पठाउनका लागि तयार गरिएको चरेसको लठ्ठो । तस्बिर : वसन्तप्रताप सिंह /कान्तिपुर ।
जिल्लाबाट बार्षिक ठूलो परिमाणमा चरेस निकासी भइरहेको स्वीकार गरे पनि प्रहरीले २०७० र २०७१ सालमा चरेस बरामद गर्न सकेन । २०७२ सालमा ८० किलो, २०७३ सालमा ३५ ग्राम र २०७४ को भदौ सम्म करिब ४७ किलो चरेस मात्र बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चरेस निकासी हुन्छ भनेर थाहा भएपनि जनशक्तिको अभावका कारण संलग्नलाई पक्राउ गर्न नसकिएको प्रहरी अधिकृतहरूको भनाइ छ । प्रहरी निरीक्षक रामबहादुर चन्द भन्छन्, ‘तस्करका अनेक बाटा हुन्छन् । प्रहरी चरेसकै पछि मात्र लाग्ने हो भने त हुन्थ्यो होला, अरू थुप्रै काम पनि गर्नुपर्छ ।’ विभिन्न ठाउँमा भएका प्रहरी चौकीलाई छलेर चरेस निकासी भइरहेको बारे प्रहरी जानकार भए पनि जनशक्ति अभावका कारण पक्रन सम्भव नभएको उनले बताए ।
‘कतिपय गाडीहरूमा चरेस बोक्नकै लागि गोप्य किसिमका बक्सहरू बनाएका हुन्छन् भन्ने पनि सुनिन्छ,’ निरीक्षक चन्दले भने, ‘सबै त्यस्ता त हुँदैनन् । कुन गाडीमा लगेको छ भन्ने कुरा सुराक नभए कसरी थाहा पाउने ?’
गाँजाको व्यावसायिक खेती भएको बारे प्रहरी जानकार भएपनि यसमा धेरै मानिसको संलग्नता हुने भएका कारण नियन्त्रण गर्न असम्भवजस्तै भएको प्रहरीको भनाइ छ । ‘एक/दुई जनाले मात्र त्यसो गरेको भए पो नष्ट गर्नु । पुरै गाउँका गाउँ गाँजा खेती गरिएको हुन्छ,’ एकजना प्रहरी नायब निरीक्षकले भने, ‘१०/१५ जना प्रहरी नष्ट गर्न गए गाउँलेहरूको जुलुस नै प्रतिकार गर्न आउँछ । प्रहरी मात्रैले के गर्न सक्छ ?’
कुलतमा युवा
जिल्लामा उत्पादन हुने चरेसको ठूलो बजार भारत भएपनि जिल्लाभित्रै पनि यसको खपत हुने गरेको छ । गाउँका प्राय: सबैजसो साना–ठूला पसल र चिया पसलमा मात्र नभएर सदरमुकाम चैनपुर र आसपासका अधिकांश पसल र होटलमा समेत चरेस सजिलै किन्न पाइन्छ ।
एक पटक चुरोटमा राखेर खानलाई ५ रुपैयाँदेखि १० रुपैयाँ प्रतिडोजमा खुद्रा बिक्री हुने गरेको छ । चरेसका ग्राहकमा अधिकांश २० वर्षमुनिका युवा र किशोरकिशोरी रहेको यसको कारोबारमा संलग्नहरूले बताउने गरेका छन् ।
‘ठूला मान्छे त्यति धेरै आउँदैनन् । प्लस टु पढ्ने केटाहरूलाई नै पुर्याउन सकिँदैन,’ सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुर नजिकै रहेको लालटिनबजारमा चिया पसलसँगै चरेसको खुद्रा व्यापार गर्ने एक व्यापारीले भने, ‘दिनमा चार/पाँच हजारसम्मको बिक्री हुन्छ ।’
उनले प्रतिडोज १० रुपैयाँका दरले बेच्ने गरेको र युवा प्राय:जसो समूहमा मिलेर किन्न आउने गरेको बताए । ‘एकै पटकमा ५ सयसम्मको पनि किन्छन्,’ उनले भने, ‘पुर्याउनै सकिँदैन । सातामा डेढ–दुई किलोजति बिक्री हुन्छ ।’
लालटिनबजार नजिकै जिल्लामै सबैभन्दा बढी विद्यार्थी पढ्ने जयपृथ्वी क्याम्पस पनि रहेको छ । अधिकांश पसलमा चरेस किन्न पाइने यो ठाउँ भन्दा ५० मिटरको दूरीमा सत्यवादी उच्च माध्यमिक विद्यालय छ । सत्यवादी र जयपृथ्वी क्याम्पसमा मात्र झन्डै ५ हजार विद्यार्थी अध्ययन गर्छन् । योसँगै सदरमुकाम चैनपुरलगायत नजिकै रहेका बजार सिमखेत, बसपार्क, डुङग्री, भिडमनी, दम्धुरलगायत ठाउँमा १ सयभन्दा बढी होटल र पसलमा चरेस सजिलै किन्न पाइने एक जना प्रयोगकर्ताले बताए ।
सदरमुकाम मात्र नभएर गाउँका उच्च मावि र माध्यमिक विद्यालय नजिकका पसलमा पनि चरेसको कारोबार बढी हुने गरेको यसका अम्मली र व्यापारीहरू बताउँछन् । यस जिल्लाका झन्डै ३० प्रतिशतभन्दा बढी किशोर र युवाहरूमा चरेसको लत रहेको अनुमान गरिन्छ । यसमा माध्यमिक तह र क्याम्पस पढ्ने विद्यार्थीहरू बढी छन् । यद्यपि हालसम्म यसबारेको आधिकारिक तथ्यांक भने छैन ।
युवापुस्तामा बढेको यो दुर्व्यसनको लहरले समाजमा गलत प्रवृत्ति हावी हुने युवा तथा किशोर–किशोरीको क्षेत्रमा काम गरिरहेको संयुक्त राष्ट्र संघीय कार्यक्रम यूएनएफपीएका जिल्ला अधिकृत धनबहादुर लम्सालले बताए । ‘ठूलो संख्यामा युवा चरेसजस्तो दुव्र्यसनमा फस्नु भोलिको समाज खतरामा पर्ने संकेत हो,’ उनले भने, ‘यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर त पर्छ नै समाजमा समेत गलत प्रवृत्ति बढाउने काम गर्छ । भोलिको पुस्तालाई मानसिक र सामाजिक रूपमा अपांग बनाउँछ ।’
ekantipur


