, काठमाडौं
आश्विन २३, २०७४-मोबाइल टेक्नोलजी क्षेत्रमा आधुनिक र नयाँ–नयाँ स्वाद दिने डिभाइस र फिचर्सहरू आउने क्रम जारी छ । यी फिचर्सहरू व्यापारिक दृष्टिकोणबाट विभिन्न कम्पनीले ल्याइरहेका छन् । केही विध्वंस सोच भएकाहरूले बालबालिका/किशोरकिशोरीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू इन्टरनेटमार्फत् ल्याएका छन् । ‘इन्टरनेट गेम्स’ का नाममा ल्याइएका खतरनाक सामग्रीले किशोरकिशोरीको ज्यानैसमेत लिने गरेको छ । त्यस्तै खतरनाक गेम्समध्येको एक हो ‘ब्लू हेल च्यालेन्ज’ । यो गेमले अहिले धेरैको निद्रा चोरेको छ ।
गेमकै कारण सयभन्दा बढी किशोरकिशोरीले आत्महत्या गरिसकेका छन् । हो, ‘ब्लू हेल च्यालेन्ज’ त्यस्तै खालको इन्टरनेट गेम हो, जुन गेमले किशोरकिशोरीलाई आत्महत्या गर्न उत्प्रेरित गरिरहेको छ । यस खेलमा जितका लागि किशोरकिशोरीले मृत्युलाई अँगालिरहेका छन् । अमेरिका, युरोप र रूसमा प्रहरीले यो ‘सुसाइडर गेम’ बारे चेतावनी नै जारी गरिसकेको छ । त्यहाँका प्रहरीले अभिभावकहरूलाई आ–आफ्ना बालबालिकामाथि निगरानी राख्न अनुरोधसमेत गर्न थालेको छ । सामाजिक सञ्जालहरूमार्फत् सचेतना कार्यक्रमहरू पनि सुरु गरिँदै छ । बेलायतमा केही संस्थाहरूले हेल्पलाइन सेवा नै सुरु गरिसकेका छन् ।
रूसबाट प्रकाशित हुने अनुसन्धानमूलक अखबार ‘नोभाया गजेटा’ का अनुसार ‘ब्लू हेल च्यालेन्ज’ खेलले रूसमा मात्र सन् २०१५ नोभेम्बरदेखि २०१६ को अप्रिलसम्ममा १३० जना किशोरकिशोरीको ज्यान लिइसकेको छ । यसैगरी ‘पानामा टुडे’ अनलाइनका अनसार ल्याटिन अमेरिकी मुलुकमा ३१ वटा यस्तै प्रकृतिका घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा छतबाट हाम फालेको र त्यसअघि फोटोहरू खिचिएका तथ्यहरू फेला परेका छन् । यी घटनाहरू ‘ब्लू हेल च्यालेन्ज’ गेमका शृंखलासँग मिल्दोजुल्दो छ ।
खासगरी किशोरकिशोरीका लागि लक्षित यो गेम तिनीहरूमाझ नफैलिने कुरै भएन । अब बिस्तारै यो सुसाइड इन्टरनेट गेम दक्षिण एसियाली मुलुकमा समेत प्रवेश गर्न थालेको छ । भारतका मुम्बईस्थित अँधेरी इस्टमा बसोबास गर्ने १४ वर्षीय मनप्रितले जुलाईमा आत्महत्या गरेको समाचार सार्वजनिक भएपछि धेरैको ध्यान यता खिचिएको हो । यो घटना ‘ब्लू हेल गेम’ कै कारण भएको प्रमाणहरू फेला परिसकेका छन् । प्रहरीका अनुसार नौ कक्षाका विद्यार्थी मनप्रितलाई ‘ब्लू हेल च्यालेन्ज’ को लत थियो । उनी छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका थिए ।
अनुसन्धानका क्रममा मनप्रितले हाम फाल्नुअघि एउटा तस्बिर खिचेका थिए, त्यसमा उसको खुट्टा मात्रै देखिन्छ । त्यसको क्याप्सनमा उनले लेखेका छन्, ‘छिट्टै तपाईंहरूसँग यो मेरो तस्बिर बाँकी रहनेछ ।’ भारतमै यो गेमका सदस्य कति छन् भन्नेबारे आधिकारिक तथ्यांक कसैसँग छैन । नेपालमा यो इन्टरनेट समूहको सम्पर्कमा आएका किशोरकिशोरीबारे बताउन झनै मुस्किल काम हो । त्यसैले अभिभावकहरू आफ्ना बालबालिकामाथि निगरानी बढाउन जरुरी छ । तपाईंका बालबालिकाले मोबाइल या कम्प्युटरमा के र कस्तो गेम खेलिरहेका छन्, नजिकैबाट नियाल्ने चेष्टा गर्नुस्, कहीं खतरनाक ‘ब्लू हेल च्यालेन्ज’ का सदस्य त बनेका छैनन् ?
गेमको आतंकको सुरुआत
रूसमा दुई किशोरीले १४ तलाको छतबाट हाम फालेर आत्महत्या गरेका थिए । दुइटैको उमेर १५/१६ वर्ष थियो । हाम फाल्नुअघि इन्स्टाग्राममा ‘ब्लू हेल च्यालेन्ज’ को तस्बिर पोस्ट गरेका थिए । त्यसपछि हजारौंको संख्यामा ‘हयास्टयाक ब्लू हेल च्यालेन्ज’ का साथ त्यो तस्बिरलाई सेयर गरिएको थियो ।
ती किशोरीहरूको नाम युलिना कोन्स्टेन्टिनोभा र भेरोनिका भोल्कोभा थियो । त्यसपछि रूसमा आत्महत्याको शृंखला नै सुरु भयो । यो गेम २२ वर्षीय रूसी नागरिक फिलिप बुदेइकिनले बनाएका हुन् । गेमकै कारण आत्महत्या गर्ने किशोरकिशोरी बढेको आरोपमा अघिल्लो महिना मात्र उनलाई तीन वर्षको काराबास सजाय सुनाइएको थियो ।
किशोरकिशोरी गेमको चपेटामा पर्नुका कारण
मनोचिकित्सकहरूका अनुसार समाजमा शारीरिक खेलहरूको स्थान अब इन्टरनेटमा खेलिने खेलहरूले लिइरहेको छ । मस्तिष्कको अध्ययनका आधार इन्टरनेट गेम्सको आविष्कार गरिँदै छ, खासगरी प्रयोगकर्ताहरूमा बालबालिका/किशोरकिशोरीलाई लोभ्याउने यस्ता गेम्सहरूको निर्माण गरिएका छन् । फेरि यसमा हालिएको आकर्षक भिजुएलले त्यस्तै खालको विज्ञापन पनि गरिरहेकै हुन्छ ।
‘हाम्रो मस्तिष्कमा यस्तो सञ्जाल पनि रहेको हुन्छ, जसले हामीलाई खतराको महसुस भइसकेपछि पनि त्यतै आकर्षित गर्ने गर्छ,’ मनोचिकित्सकहरू भन्छन्, ‘यही कारणले ‘ब्लू हेल च्यालेन्जबाट ज्यान जान सक्छ भन्ने कुरो थाहा हुँदाहुँदै पनि किशोरहरू यो खेलका सदस्य बनिरहेका छन् ।’
जुन बालबालिका या किशोरकिशोरी इन्टरनेट गेम्सका एडिक्ट छन्, तिनीहरूले सजिलै यो खतरनाक खेललाई अपनाउन सक्छन् । यस्तो अवस्थामा अभिभावक सतर्क रहन जरुरी छ । कम्प्युटर र स्मार्टफोनहरूमा घण्टौं गेम्स खेल्नुलाई इन्टरनेट गेमिङ एडिक्सन भनिन्छ । यो लतमा फसेका किशोरकिशोरीले गेम्स खेल्न नपाएको अवस्थामा उसको व्यवहारमा एकाएक परिवर्तन आउने गर्छ । आफ्नै परिवारका सदस्यहरूप्रति तिनीहरू उग्र स्वभाव देखाउन सक्छन् । व्यवहारमा चिडचिडापना, उदासीनता र आक्रामकता तिनीहरूले देखाउन पुग्छन् । त्यस्तै निद्रा नलाग्ने र सोच्ने शक्ति प्रभावित बन्न पुग्छ । फलस्वरूप तिनीहरूको पढाइ बिग्रिने गर्छ । मनोचिकित्सकका अनुसार बालबालिका या किशोरकिशोरी आफ्ना अभिभावकप्रति आक्रामक बन्दै परिवार, साथीभाइ र समाजसँग टाढिँदै जाने एक्लै बस्न रुचाउने, विद्यालयको पढाइमा बिगार्ने, खानपानको सामान्य अवस्थामा पनि परिवर्तन आएको अवस्थामा अभिभावकले बुझ्नुपर्छ, बच्चामा इन्टरनेट गेम्सको लत बस्न थालिसकेको छ ।
बालबालिकाहरू आफ्नो एक्लोपन हटाउनका लागि इन्टरनेट गेम्समा रमाउने गर्छ । त्यस्तै बालबालिकाहरू काल्पनिक चरित्रहरूको हिस्सा बन्नका लागि पनि इन्टरनेट गेम्सको संसारमा प्रवेश गर्दै बिस्तारै–बिस्तारै काल्पनिक संसारको पार्ट बन्ने गरेको अनुसन्धानहरूले समेत देखाएको छ ।
गेम्सको एडिक्टबाट बचाउने प्रयासहरू
सुसाइड गेम ‘ब्लू हेल च्यालेन्ज’ लाई रोक्नका लागि इन्स्टाग्रामले अभियान सुरु गरेको छ । इन्स्टाग्राममा ‘ब्लू हेल’ लेख्नेबित्तिकै वार्निङ सन्देश आउने व्यवस्था गरिएको छ । सन्देशमा लेखिएको हुन्छ : तपाईंले जसलाई सर्च गर्दै हुनुहुन्छ त्यो मृत्युलाई उस्काउने पनि हुन सक्छ, तपाईंलाई कुनै समया भए हामी सहयोग गर्न तयार छौं । त्यहाँ ‘सी पोस्ट एनिवे’ मा क्लिक गरेपछि त्यो खतरनाक गेम्सका बारेमा जोक्सहरू आउन थाल्छन् ।
यसैगरी, किशोरकिशोरीहरूलाई आत्महत्याका लागि उस्काउने ‘ब्लू हेल च्यालेन्ज’ विरुद्ध प्रेमको सन्देश फैलाउनका लागि ‘पिंक हेल’ इन्टरनेट गेमको निर्माण गरिएको छ । यसै वर्षको अप्रिलमा ब्राजिलमा यो गेमलाई विकसित गरिएको हो । हाल यो इन्टरनेटमा निकै लोकप्रिय छ । फेसबुकमा ‘पिंक हेल’ गेमका तीन लाख फ्लोवर्स छन् भने इन्स्टाग्राममा ४५ हजार । ‘पिंक हेल’ गेमको उद्देश्य इन्टरनेटमा घृणा मात्रै फैलाउने हैन, प्रेम पनि बाँड्न सकिने भन्ने रहेको छ । यो गेममा पनि ‘ब्लू हेल’ गेममा जस्तै किशोरकिशोरीलाई चुनौती दिइन्छ तर यसले तिनीहरूलाई नोक्सान पुर्याउने खालका हुँदैन, स्नेह र माया बाँड्ने हुन्छ । ‘पिंक हेल’ गेममा हातको छालामा प्लेयर्सले जसलाई प्रेम गर्छ उसको नाम लेख्नका लागि चुनौती दिइन्छ । साथै मानिसलाई माफ गर्न, क्षमा माग्नजस्तो च्यालेन्ज पनि दिइन्छ । यो गेम खेल्नेहलाई आफ्नो अभिभावकसँग कति माया गर्छ भन्ने लेख्नका लागि पनि उत्प्रेरित गर्छ ।
गेमको फाइनल च्यालेन्ज भने कुनै जनावरहरूको अधिकारसँग सम्बन्धित संगठन या अन्यलाई डोनेट गर्नुपर्ने हुन्छ । यो गेम ३० दिनको शृंखलाअन्तर्गत ५० वटा च्यालेन्ज पूरा गरेपछि सकिने गरेको ‘हाइग्गिपप डट कम’ ले जनाएको छ । ‘पिंक हेल’ गेम एन्ड्रवाइड र आईओएस फोनमा फ्री डाउनलोड गर्न सकिन्छ । -एजेन्सीहरू
के हो च्यालेन्ज गेम ?
ब्लू ह्वेल च्यालेन्ज गेममा बालबालिकालाई प्रतियोगिता पूरा गर्न पहिले प्रेरित गरिन्छ । यसका लागि उसलाई एउटा काम पूरा गर्न शृंखलाबद्ध टास्क गर्नुपर्ने हुन्छ । अन्त्यमा जसले मृत्युलाई अँगाल्छ, उसैको जित हुन्छ । ‘अ साइलेन्ट हाउस’, अ सी अफ हेल’ र ‘वेक–अप मी एट ४.२० एएम’ सुसाइड गेमका नामहरू हुन् । गेमको टास्क ५० दिनमा पूरा गर्नुपर्ने हुन्छ । यस गेमको सुरुआत रूसमा भएको हो । ‘भिकोन्ट्याक्टे’ वेबसाइटमा यो गेम खेलिन्छ ।
यो वेबसाइट रूसमा लोकप्रिय छ । रूसपछि यो गेम युरोप, अमेरिकासहित अन्य मुलुकमा समेत फैलिँदै गएको छ । यो गेममा क्युरेटर अर्थात् एडमिन, प्लेयरलाई डेथ वा सुसाइड ग्रुपमार्फत् खोज्छन् । समूहचाहिं ‘भीके डट कम’ को मार्फत् बनाइन्छ । हालै रूसका प्रहरीले यो ग्रुपमाथि प्रतिबन्ध लगाएको छ । तर पनि त्यहाँ रोक्न सकिएको छैन । प्रहरीले एउटा समूहलाई बन्द गरेलगत्तै एडमिनले अर्को समूह बनाइहाल्छ । समूहको सदस्य बनेपछि फुत्कनै नसकिने अवस्था हुन्छ । मोबाइल, आइफोन, कम्प्युटरलगायत डिभाइसमा एकपटक यो गेम डाउनलोड गरेपछि हटाउनै सकिन्न । यो गेम डाउनलोड गरेलगत्तै समूहमा आबद्ध सदस्यबाट लोभ्याउने गरी सन्देश आउँछ । त्यहाँ सदस्यहरू गीत सुन्न, हर्रर चलचित्र हेर्न र आधी रातमा उठ्न, ब्लेडले छालामा हेलको आकृति बनाउन या केही लेख्नैपर्ने खतरनाक टास्क दिने गरिन्छ ।
‘हाइग्गिपप डट कम’ का अनुसार पहिलो च्यालेन्ज बिहानै ४ बजेर २९ मिनेटबाट सुरु हुन्छ । गेम प्लेयरले जानी–जानी आफूलाई क्षति पुर्याउनका लागि यो समय छनोट गरेको हुनुपर्छ । खतरनाक टास्क पूरा गर्नका लागि बाध्य तुल्याउन किशोरकिशोरीलाई उसको गोप्य सूचना सार्वजनिक गर्ने धम्की पनि दिइन्छ । यस गेममा सहभागी सदस्यले एडमिनसमक्ष हरेक स्टेज पूरा गरेपछि प्रमाणका रूपमा तस्बिर र भिडियोहरू पढाउनुपर्छ ।
ekantipur


