हालको संसदको कार्यकाल सकिनै लाग्दा महत्वपूर्ण मानिएका कतिपय विधेयकहरु पारित हुन सकेका छैनन्।
दशैं बिदापछि शुक्रबार पहिलोपटक बस्न लागेको संसद बैठकमा निर्वाचन सम्बन्धी विधेयकहरु प्राथमिकतामा परेको सभामुख ओनसरी घर्तीले बताइन्।
उनले भनिन्, “प्राथमिकतामा निर्वाचन सम्बन्धी विधेयक स्वत: छन्। सरकारको प्राथमिकतामा रहेका अरु १०-१२वटा विधेयकहरु छन् त्यो पनि पारित हुन्छ। कति सक्छौं गर्छौं, अब लगातार संसद बस्छ।”
यसअघि संसदमा गणपुरक संख्या ‘कोरम’ पुगेको थिएन।
हाल धेरै सांसद चुनावको तयारी गर्न आ-आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्।
यसकारण शुक्रबार बस्ने संसदमा पनि कोरम नपुग्नसक्ने ठानिएको छ।
तर सरकारका प्राथमिकतामा परेका विधेयक पारित गर्न कोरम पुग्ने आशा सभामुख घर्तीले व्यक्त गरिन्।
उनले भनिन्, ” त्यो समस्या आइरहेको छ र आउन पनि सक्छ तर सरकार आफ्नो काम पार लगाउन जिम्मेवार होला।”
संविधानको व्यवस्था अनुसार हाल संसदमा रहेका विधेयकहरु पारित नभए अब बन्ने संसदमा ती विधेयक पुन: शुरुवाती अवस्थामा पुग्नेछन्।
हालको रुपान्तरित व्यवस्थापिका संसदको अवधि २०७४ साल माघ महिनाको ७ गतेसम्म भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद कायम रहने उल्लेख गरिएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन कार्तिक ५ गते तोकेकाले त्यसको एक दिन अघिनै हालको संसद स्वत: भङ्ग हुनेछ।
BBC


