२० असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा चुनावमा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुक्रबार राजदूत उपाध्यायको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा लगेर बुझाएका छन् । कांग्रेस नेता समेत रहेका उपाध्याय गत संविधानसभा चुनावमा कपिलबस्तु-१ मा चुनाव हारेका थिए ।
तर, तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उनलाई भारतका लागि नेपाली राजदूत बनायो । आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय समेत गरेको थियो ।
कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड भएपछि फेरि उपाध्याय नै राजदूत नियुक्त भए । राजदूत नियुक्त भएको ११ महिनापछि चुनाव लड्न भन्दै राजीनामा दिएका छन् ।
onlinekhabar


