१६ असोज, क्यानाडा । टोर्नाेटोमा होटेल खोल्ने योजना बनाए पनि उनीसँग प्रशस्त पैसा थिएन । जग्गाको भाउ आकाशिएको थियो । इसाडोर इस्सी सार्पले मुस्किलले वेश्यालयनजिक सस्तो जग्गा भेटे । कलंकित क्षेत्रमै सही उनले त्यहीं पहिलो होटेल खोले । अहिले उनीसँग विश्वभर ९९ वटा होटेल छन् । यस क्षेत्रमा बिताएको ५० वसन्त नियाल्दा उनले मध्यम उपलब्धि मात्र ठान्ने गरेका छन् । उनको वाषिर्क आम्दानी चार अर्ब अमेरिकी डलर छ ।

उनका होटेल ३३ वटा मुलुकमा सञ्चालित छन् । ९० औं वसन्त पार गरिसकेका उनी अझै सक्रिय जीवनबाट टाढा छैनन् । होटेल चेनका प्रमुखको जिम्मेवारी कसैलाई हस्तान्तरण गरेका छैनन् । अहिले पनि होटेलमा थपिने सुविधा र चेनको नयाँ सदस्य थप्ने निर्णय उनी आफैंले गर्छन् ।अन्तर्राष्ट्रिय चेन होटेल ‘फोर सिजन्स’ उनकै सोचको प्रतिफल हो । र, विश्वका सफल होटेल व्यवसायीका रुपमा नाम लेखाएका छन् ।
सफलताको मानक कर्मचारीको खुशी
हरेक कम्पनीको सफलताको मेरुदण्ड काम गर्ने कर्मचारीको खुशी हुने उनको विश्वास छ । त्यसैले उनको प्रयत्न कर्मचारीलाई खुशी बनाउने हुने गर्छ, सधैं । ९० औं वसन्त पार गरिसकेका उनी अझै सक्रिय जीवनबाट टाढा छैनन् । होटेल चेनका प्रमुखको जिम्मेवारी कसैलाई हस्तान्तरण गरेका छैनन् ।
‘भूगोल, धर्म, समय र संस्कृतिको ख्याल राख्नुपर्छ,’ उनी भन्छन्, ‘अरुबाट जस्तो व्यवहार चाहनु हुन्छ, तपाईंले पनि ऊसँग त्यस्तै व्यवहार गर्नुपर्छ । र, तपाईंले अर्काेलाई राम्रो व्यवहार गर्न सक्नु भयो भने तपाईंलाई पनि उसले राम्रो व्यवहार गर्छ ।’
फच्र्युन म्यागेजिनले कामदारका लागि सबैभन्दा राम्रो वातावरण भएका सय वटा कम्पनीको सूचीमा उनको चेन अग्रपंक्तिमै रहन्छ, सधैं । उनका होटेलमा कर्मचारीको फेरबदल पनि कमै हुन्छ । स्वाभाविकै हो, कर्मचारी अधिकतम फेरबदल हुने कम्पनीहरुको सूचीमा सार्पको कम्पनी निकै तल छ ।
पारिवारिक पृष्ठभूमि
उनका बाबुआमा पोल्यान्डका बासिन्दा थिए । सन् १९३१ मा सार्प जन्मेको केही समयपछि नै उनीहरु क्यानाडा सरे । आर्किटेक्चरमा मास्टर्स गरेका सार्पले रोजगारी भने आफ्नै बाबुको निर्माण व्यवसायबाट सुरु गरे । त्यस क्रममा होटेल व्यवसायको आम्दानी राम्रो देखे । र, उक्त व्यवसायमा हात हाल्ने सोच बनाए ।
निर्माण व्यवसायमा उनी जमिसकेका थिए । विलकुलै नयाँ क्षेत्रमा हात हालेकाले उनलाई कसैले ऋणसमेत पत्याएन । भन्छन्, ‘मैले त्यतिबेला मेरो सोचलाई राम्रो आइडियाका रुपमा मानिसले नमानेको महशुस भयो ।’
उनलाई लगानीकर्ता खोज्नै पाँच वर्ष लाग्यो । तर, जहाँ इच्छा त्यहाँ उपाय, उनको विश्वासकै विजय भयो । पाँच वर्षपछि उनले पहिलो खुड्किलो उक्लिछाडे । वेश्यालयको छेउमै सही सन् १९६० मा पहिलो होटेल खोले । त्यस होटेल सञ्चालनमा मिलेको सफलताले उनलाई हौस्यायो । एकपछि अर्को होटेलमा लगानी विस्तार गर्दै गए ।
एक दशकमै विश्वका विभिन्न भागमा होटेल खोलिसकेका थिए । बर्सेनि दुई वटाका दरले थप्दै गए । अन्यले दिएको भन्दा फरक सुविधा दिनुपर्ने ठान्छन्, उनी । सेम्पु, चौबीस घण्टे सेवा, एकै दिनमा कपडा धुलाइ र सरसफाइ । त्यही नयाँपनले उनलाई सफलताको शिखरमा पुर्यायो ।
तथापि, यात्रामा सधैं कहाँ सिंढी उक्लिन पाइन्छ र ! उनी पनि हण्डर र ठक्कर खाँदै अगाडि बढे । सन् १९७० र ७३ को तेल संकटले उनलाई पनि पुर्पुरोमा हात राख्ने बनाइदियो ।
हिम्मत नहारी अगाडि बढ्दा फेरि खुशीका दिन आए । आफ्नो सफलताको श्रेय उनी पत्नीलाई दिन्छन् । एकदिन पनि घर नबसी व्यापारमा लाग्न पत्नीकै सदासयताको उपज ठान्छन्, उनी । सन् १९८६ मा उनको होटेल चेन सेयर बजारमा सूचीकृत भयो । सन् २००७ सम्म आइपुग्दा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र साउदी अरेबियाका युवराज अल वालिद बिनले पनि उनका सेयर खरिद गरे ।
९५ प्रतिशत सेयर खरिदका लागि उनीहरुले सार्पलाई तीन अर्ब ८० करोड अमेरिकी डलर तिरे । पाँच प्रतिशत सेयर भने सार्पकै नाममा छँदैछ । सन् २०१० सम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृत र त्यसयता अध्यक्षको भूमिकामा छन् ।
BBC



