, दमक
आश्विन १५, २०७४-पहिचान हुन नसकेको रोगका कारण झापाको कनकाई नगरपालिका ४ टेक्रामा दुई जनाको मृत्यु भएको छ । अन्य ७ जना सिकिस्त बिरामी परेको कनकाइका मेयर राजेन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा टेक्रास्थित मुसहर बस्तीका २४ बर्षीया बसन्ती ऋषिदेव र २३ बर्षीय नारायण ऋषिदेव रहेका छन् । मेयर पोखरेलका अनुसार बसन्तीको शनिबार राति तथा नारायणको सप्तमीको राती मृत्यु भएको हो । उनीहरु दुवैलाई टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा लुलिने र रगतसहितको वान्ता भएको थियो । ४ दिनमा दुई जनाको मृत्यु भएको तथा अन्य गाउँले बिरामी हुँदा मुसहर बस्ती त्रसित बनेको छ ।
रोगका कारण ३० बर्षीय दुर्गा ऋषिदेव, २४ बर्षीय मेनुका ऋषिदेव, २२ बर्षीया राधा ऋषिदेव, मृत्यु भएकी बसन्तीकी १० बर्षीय छोरा सागर, ४४ बर्षीय सुरेन्द्र ऋषिदेव, २४ बर्षीय जीवन ऋषिदेव र ३० बर्षीया ललिता ऋषिदेव सिकिस्त बिरामी परेका हुन । उनीहरुलाई घरमै धामी झाक्री लगाई झारफुक गरिएको थियो ।
रोग फैलिएकोबारे थाहा पाएपछि आइतबार नगरपालिकाका मेयर पोखरेलसहितको स्थानीयको टोलीले बिरामी सबैलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगेका छन् । उनीहरुले आफ्ना कुलदेवता बिग्रिएकोले यस्तो रोग लागेको भन्दै बिरामीलाई झारफुक गर्दै बसेका थिए । रोग लाग्नासाथ उपचार नपाएकाले बिरामी सबैको अवस्था गम्भीर बनेको मेयर पोखरेलले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका महामरी रोगका फोकल पर्सन कुलबहादुर पौडेलले रोग फैलिएकोबारे जानकारी लिने काम भइरहेको बताए । उनले बिरामीहरुमा देखिएको लक्षणका आधारमा तत्कालै यही रोग लागेको हो भनेर यकिन गर्न नसकिएको बताए । उनले घटनाबारे अनुसन्धानका लागि तत्काललाई कनकाई प्राथमिक स्वास्थ्य केन्द्रका अहेब इन्द्र भट्टराई र नगरपालिकाका हेल्थ असिष्टेण्ड राजिव विष्टलाई खटाइएको बताए । आफूहरुसहितको स्वास्थ्य टोली सोमबार घटनास्थलमा पुग्ने उनले जानकारी दिए ।
ekantipur


