अनिल खत्री
रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार साँझदेखि निरन्तर ठूलो पहिरो झरिरहेको छ । सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर शुक्रबार केहीबेर एकतर्फी बाटो खुलाइएको थियो । दशैंको टीकाको अघिल्लो दिन एकतर्फी भए पनि सडक खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका थिए । तर, तीन घण्टामै पुनः सडक अवरुद्ध भएपछि स्थानीयबासी निराश बनेका छन् ।बाटो बन्द भएपछि दशैं मनाउन आवत जावत गर्ने यात्रुहरु बढी मर्कामा परेका छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले ठूलो पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिनाई भएको बताए । उनका अनुसार जोखिम बढेपछि अहिले पहिरो पन्छाउने काम पनि रोकिएको छ । पहिरो खस्ने क्रम रोकिएमा आइतबार पुनः सडक खुलाउन प्रयास गरिने उनले बताए ।
दशैंको दिन पनि सीडीओ र एसपी पनि सडकमै
गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्विवेदी, नगरपालिका वडा नम्बर १३ का अध्यक्ष खुमबहादुर खत्री ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली सडक खुलाउने प्रयासमा दिनहुँ पहिरो स्थलमा बस्ने गरेका छन् । दशैंको टीकाको दिन पनि प्रमुख जिल्ला अधिकारी अर्याल र एसपी द्विवेदी साँझ अबेरसम्म सडकमै थिए ।
सडकको स्थलगत अवस्था बुझ्न, सडक खुलाउन खटिएका प्राविधिकहरुलाई निर्देशन दिन र दशैंको दिन पनि अलपत्र परेका यात्रुहरुलाई सान्त्वना दिनका उनीहरु सडकमै बसेका हुन् । ‘दशैं मनाउने भन्दा पनि कसरी छिटो सडक खुलाउन सकिन्छ र यात्रुहरुलाई सहज हुन्छ भनेर हामीले ध्यान दिएका छौं,’ गुल्मीका प्रजिल अर्यालले भने, ‘यो पहिरोले साह्रै दुःख दिने देखियो ।’
विकल्पको खोजी
सडकमाथिको पहाड फाटेकाले पहिरो झर्न क्रम जारी छ । त्यसैले यो समस्या समाधानको दिर्घकालीन उपाय खोज्नुपर्ने निष्कर्षमा जिल्लाका अधिकारीहरु पुगेका छन् । ‘दिर्घकालिन समाधानको उपायबारे अध्ययन गर्न जरुरी देखिएको छ,’ गुल्मीका प्रहरी प्रमुख द्विवेदीले भने, ‘जोखिम मोलेर सवारी साधनहरु आवत जावत गराउँदा पुरिए भने के गर्ने ?
सोमबार बिहानदेखि नै पहिरो खस्ने थालेको थियो । सानो पहिरो भएकाले पन्छाउँदै सडक खुलाइए पनि बुधबारदेखि पूर्णरुपमा बन्द हुँदै आएको छ । बाटो बन्द भएपछि यात्रुहरु पैदलै गन्तव्यतर्फ जाने गरेका छन् । वृद्धवृद्धा, अशक्त, बिरामी र व्यापारीहरु भने बढी समस्यामा परेका छन् ।
दशैंका लागि ल्याइएका लाखौंका फलफूल तथा तरकारीहरु ढुवानी गर्न नसक्दा बिग्रिएका छन् । व्यापारीहरुले बाटो खुलाउन र यसको दिर्घकालिन समाधान खोज्न आग्रह गरेका छन् ।
उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ । खन्नै नहुने ठाउँमा बाटो बिस्तार गरिएकाले अहिले झनै ठुलो समस्या झेल्नु परेका बताउँछन् । पहिरो गएको स्थान नजिकै पहिलेदेखि पहिरो खस्ने र सड्क बन्द हुने गर्दथ्यो ।
स्थानीयबासीले भंगारीको पहिरोलाई विगतमा पृथ्वी राजमार्गको कृष्णभीरमा झर्ने पहिरोसँग तुलना गर्ने गरेका छन् ।
onlinekhabar


