- बस र ट्रक ठोक्किएपछि रातभर विवाद, कुरिनटार पुग्यो जाम
१६ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डलाई बिहीबार अबेर खुलाइए पनि अहिलेसम्म सवारी साधन सुचारु हुन सकेको छैन । चारकिलोको सडक बुधवार राति परेको पानीले ४० मिटर भासिएपछि अवरूद्ध बनेको थियो ।
सडक भाँसिएको ठाँउमा भित्ता काटेर सडक सञ्चालन भए पनि सवारीको अत्यधिक चाप, जथाभावीको ओभरट्याकले सडक सञ्चालन सुचारु हुन नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
‘बस र ट्रक सामान्य रुपमा ठोक्किए तर विवाद ठूलो भयो, रातिमा पुलिस पनि भएन’ खनालले भने, ‘त्यही कारण कैयौं यात्रुले दुःख समेत पाए ।’ बिहीबार बिहान घरबाट हिँडेका कैयौं यात्रुहरु अझै पनि बाटोमा नै रहेको उनले जानकारी दिए ।‘बाटो निकै अप्ठ्यारो छ, पहिरो गएको ठाँउमा साँघुरो पनि छ’, खनालले अनलाइनखबरसँग भने, ‘पहिरो गएको ठाँउ वान वे जस्तै भएकाले सवारी कट्नै समय लागिरहेको छ ।’ मुग्लिनभन्दा १ किलोमिटर नारायणगढतर्फ एक बस र ट्रक समेत ठोक्किएकाले आवागमन थप अस्तव्यस्त बनेको खनालले जानकारी दिए ।
सवारी जामका कारणले मुग्लिन भएर पोखरा जाने र काठमाडौं आउने कयौं सवारी साधन फसेका छन् । पोखरा र नारायणगढ भएर जाने सवारी साधानहरु मुग्लिनबाट कुरिनटारसम्म जाममा छन् भने पोखरावाट काठमाडौं जाने सवारी साधानहरु तनहुँको आँबुखैरहनी गाँउपालिका क्षेत्रमा डेढ किलोमिटरभन्दा बढी जाममा परेका छन् । बिस्तारै सवारी सर्न थाले पनि सहज रुपमा खुलाउन दिनभर जस्तो लाग्ने मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।
onlinekhabar


