सीता शर्मा
काठमाडौंँ, भदौ ८ गते । तीज पर्व मनाउने नाउँमा महिना दिनदेखि महिलाले पार्टी प्यालेसदेखि पाँचतारे होटलमा दर खाने, खुवाउने र बहुमूल्य वस्तुहरूको प्रदर्शन गर्ने होडबाजीमा कमी देखिएको छ । तीज नजिकिएसँगै देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबानले भएको धनजनको क्षतिले गर्दा दर खाने खुवाउने प्रचलनमा यस वर्ष केही कमी आएको हो ।
कतिपय ठाउँका महिला तीजको दर खाने खुवाउने समयमा बाढीपीडितको उद्धार र राहत सङ्कलनमा जुट्नुभयो भने कतिपयले दर खान र खुवाउन लाग्ने खर्च बाढी तथा पहिरोपीडितलाई दिनुभयो । नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा अखिल नेपाल महिला सङ्घ भक्तपुर २ नम्बर क्षेत्रीय समितिले शनिबारदेखि बाढीपीडितका लागि राहत सङ्कलन कार्यक्रम नै आयोजना गरिरहेको छ ।
देशमा विपत् परेको बेला तीजको रमाइलो र नाचगान स्थगित गर्दै राहत सङ्कलनमा उहाँहरू जुटनुभएको हो । उहाँहरू मात्र होइन, चन्द्रागिरि नगरपालिकाका महिला समूहका अध्यक्ष यामुना श्रेष्ठले पनि देश विपत्मा डुबिरहेको बेला दिदीबहिनी चुप लागेर बस्न नमिल्ने भन्दै आफूहरूले राहत सङ्कलनलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो । 
संस्कृति तथा पुरातŒवविद् प्रा.डा. वीणा पौड्यालले केही वर्षदेखि तीज कुनै एउटा धर्म र जातिविशेषको मात्रै पर्व नभएर सबै धर्म र जातजाति, समुदाय, वर्ग लिंगले उत्सवका रूपमा मनाउने गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा अधिकांश महिलाले तीज पर्वलाई महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवसरका रूपमा प्रयोग गर्ने गरेको र यो एकदमै सकारात्मक हो भन्नुभयो । तीजका नाममा महिनौँसम्म दर खाने, खुवाउने र तडकभडक गर्ने प्रचलनमा यस वर्ष धेरै कमी आएको उहाँले उल्लेख गर्नुभयो ।
देश नै रोइरहेको बेला कतिपय महिलाले पाँचतारे होटलदेखि पार्टी प्यालेसमा तीज कार्यक्रम आयोजना गरी ठूलो राशिको टिकट बिक्री गर्ने प्रचलन विगतका वर्षहरूको तुलनामा धेरै घटे पनि केहीले भने ढुक्कसँग विगतलाई निरन्तरता दिएको देखियो । केहीले भने घरमै क्याटरिङ बोलाएर समाजसेवा गर्ने नाममा जबरजस्ती टिकट बिक्री पनि गरेको पाइयो ।
वाध्यतावश भड्किलो र खर्चिलो गरी तीज मनाउँदै आएका अधिकांश मध्यमवर्गीय परिवारका कतिपय महिला भने बाढीपीडितको राहतमा जुटेका छन् । समाजशास्त्री आरती शर्माले आधुनिकताको विकास र विस्तारसँगै परम्परागत संस्कार तोडेर नयाँ संस्कृति र परम्पराको विकास गर्नुपर्छ भन्दैमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिँदै मौलिक संस्कृतिलाई उपेक्षा गर्न नहुने बताउनुभयो ।
उहाँले चाडपर्वमा हुनेखानेका लागि महँगा वस्तु प्रदर्शन गर्नु ठूलो समस्या नभए पनि दुई छाक टार्न धौधौ पर्ने समुदायका अधिकांश महिला दिदीबहिनीका लागि चाडपर्व निल्नु न ओकल्नु बनिसकेको अवस्थामा कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुधार ऐनअनुसार कारबाही गर्ने भनेर सन्देश प्रवाह गरेको सुनाउनुभयो ।
राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले तीजका नाममा महिनांँैदेखि दर खाने, खुवाउने प्रवृत्तिमा सुधार जरुरी रहेको बताउनुभयो ।


