- प्रधानमन्त्रीको भारत भ्रमणबारे जान्नै पर्ने २५ तथ्य
– , नयाँ दिल्ली
भाद्र ६, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि भारतको भ्रमण गर्दैछन् । केही साना विषयमा समझदारीपत्रमा हस्ताक्षर हुने बाहेक अन्य ठूला विषयमा खासै प्रगति हुने छाँटकाँट छैन । विकासका केही पुराना एजेण्डाहरुमा रहेका गाँठाहरु फुकाउने केही प्रयास भएपनि मंगलबार बिहानसम्मको अवस्था त्यति सन्तोषजनक छैन ।
दूतावासका एक उच्च अधिकारी भन्छन्-अहिलेसम्म त्यति धेरै उत्साजनक अवस्था छैन । उनी भन्छन, ‘उल्लेखनीय विषय केही छैन, पहिलेदेखि नै रहेका केही विषयमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा समझदारी पत्रका हस्ताक्षर हुन गइरहेको छ । यद्यपी प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उठ्ने विषयहरु निकै छन्, जसलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
- पुराना भारतीय नोट साट्ने विषयः भारतमा गत वर्ष ५०० सय र हजारको नोटमा प्रतिबन्ध लागेपछि नेपालीसँग रहेका पुराना नोटहरु साट्ने विषयमा कुनै पनि प्रगति भएको छैन । नेपालले प्रभावकारी कुटनीतिक पहल नगर्दा यस्तो अवस्था सिर्जना भएको छ । यसपाली भ्रमणको समयमा यो विषय उच्च राजनीतिक तहमा तहमा उठ्ने त छ तर यसमा कुनै सहमतिको सम्भावना छैन ।
- नेपाली ग्यासका बुलेटहरुलाई अनुमति दिने विषय पनि भ्रमणको एउटा एजेण्डा हो तर यस विषयमा सहमतिको सम्भावना न्युन छ । भारत सरकारलाई व्यापारीहरुको ठूलो दबाब रहेकाले यसमा सहमतिको सम्भावना कम देखिन्छ ।
- भारतले निर्माण गरेको बाँध तथा अन्य पूर्वाधारको विषयमा प्रधानमन्त्रीले कुरा राख्ने छन् तर यसमा पनि ठोस प्रगति हुने सम्भावना देखिँदैन । बृहत रुपमा नदीको व्यवस्थापन गर्ने विषयमा कुरा हुने छ । यस सम्बन्धमा नेपालमा भन्दा आफूहरुले बाढीको बढी समस्या भोग्नुपरेको भारतीय पक्षले बताउने गरेको छ । भारतले निर्माण गरेको सडक तथा पूर्वाधार रोक्ने कुनै सम्भावना छैन ।
- नेपाल र भारतका प्रधानमन्त्रीले आगामी हिउँदमा नेपालले थप बिजुली आयात गर्ने ट्रान्समिसन लाइनको उद्घाट्न गर्ने कार्यक्रम छ ।
- नेपालले उर्जा संकट समाधानको लागि गत वर्ष इनर्जी बैंकको अवधारणा अगाडि सारेको थियो । विशेषगरी भारतको उत्तरप्रदेश र बिहार राज्यसँग यस विषयमा सहकार्य गर्ने विषयमा छलफल हुने छ ।
- नेपालल भारतबाट युरिया मल किन्ने विषयमा पनि समय समयमा व्यापक समस्याहरु उत्पन्न भएकाले यस विषयमा छलफल हुने छ । केही महिना अगाडि नेपालले यसका लागि अनुरोध गरेपनि समयमा मल प्राप्त सकेन ।
- नेपाल लामो समयदेखि नेपाली सेनाको हतीयार किन्ने विषयमा भारतसँग निर्भर रहँदै आएको छ । तर गत वर्षदेखि त्यसमा नेपालले केही नयाँ प्रस्ताव गरेको छ जसमा कुनै सहमति भएको छैन । यस विषयमा पनि उच्च तहमा वार्ता हुन सक्छ ।
- नेपाल र भारतको विचमा तीन वर्ष अगाडि विद्युत व्यापार सम्झौता भएपनि धेरै समस्याहरु देखिएका छन् । विशेषरी भारतीय बजारमा नेपालको खुला पहुँचको विषय अझै समाधान भइसकेको छैन ।
- बुटवल-गोरखपुर ट्रान्समिसन लाइन निर्माण गर्ने विषयमा पनि भ्रमणका छलफल हुन सक्छ ।
- पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने विषय दुबै देशका प्रधानमन्त्रीको प्राथमिकताको विषय हो तर केही विवादित विषयहरु मंगलबारसम्म पनि हल भएको छैन । यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले पहल थालेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अरुण तेस्रो र माथिल्लो कर्णाली परियोजनामा देखिएका समस्याबारेमा पनि छलफल हुनेछ ।
- महाकाली पुलको विषय अर्को एजेण्डा हो जसमा केही सम्झौता हुने सम्भावना रहेको छ ।
- भारतले घोषणा गरेको लाइन अफ क्रेडिटका केही प्राविधिक विषयहरु हल गर्ने विषयमा समेत भ्रमणको विषयमा छलफल हुने छ ।
- गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने सिंचाई सुविधाको विषय केही महिनादेखि नेपालले उठाइरहेको छ । भारतले नेपालसँग यस विषयमा विस्तृत परियोजना प्रतिवेदन माग गरिरहेको छ ।
- नेपालमा भूकम्पपछि भारतले घोषणा गरेको सहयोगलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने विषयमा पनि भ्रमणको समयमा केही सहमति हुने सम्भावना रहेको छ तर टुंगो लागिसकेको छैन । यस विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
- नेपाल र भारतको विषयमा रहेका कैयौं व्यापार तथा वाणिज्यसँग सम्बन्धित विषयहरुमा समेत भ्रमणको समयमा छलफल हुने छ । भारतमा नेपालको निर्यात एकदमै नाजुक रहेको अवस्थामा त्यसलाई सुधार गर्नको लागि नेपालले केही थप सुविधाहरुको माग गरिरहेको छ ।
- नेपालको सुदुर पश्चिममा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा भारतको सहयोग खोज्ने विषयमा पनि दुई देशको विचमा छलफल हुने सम्भावना रहेको छ ।
- सिमानामा बनेको एकिृत सुरक्षा प्रणाली लगायतका अन्य पूर्वाधार निर्माण भ्रमणको अर्को एजेण्डा हो ।
- नेपाल र भारतबीचमा पेट्रोलियम पाइपलाईन बनाउने विषयमा सहमति भइ प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा ग्यासको पाइपलाइन बनाउने विषयमा समेत दुई देशबीचमा छलफल चलिरहेको छ ।
- सूचना तथा प्रविधिको क्षेत्रमा दुई देशको विचमा गर्न सकिने सहकार्यको विषयमा पनि छलफल हुने छ ।
- विशखापट्नम बन्दरगाह नेपालले पहिले नै प्रयोग गरिरहेको सन्दर्भमा केही विषयहरु हल गर्नुपर्ने भएकाले त्यस विषयमा समेत भ्रमणको समयमा छलफल हुने छ ।
- नेपाल र भारतबीचमा लामो समयदेखि रहेको सुपुदर्गी सन्धि तथा पारस्परिक कानुनी सहायता सम्बन्धी विषयमा समेत छलफल हुने छ । भारतले यस अगाडिका उच्च भ्रमणमा पनि यो विषय उठाएको थियो । यस विषयमा नेपालमा आन्तरिक सहमति बनिसेको छैन, त्यसैले यो विषय छलफलमा नै सिमित हुने छ ।
- नेपाल र भारत सिमानामा थप सञ्जाल विस्तार गर्ने विषय पनि छलफलको अर्को विषय हुने छ प्रधानमन्त्रीको भ्रमणको समयमा ।
- यी दुईपक्षीय बाहेक अन्य राजनीतिक तथा कुटनीतिक विषयमा समेत प्रधानमन्त्रीको भ्रमणको समयमा छलफल हुने छ ।
- देउवाको भ्रमण भइरहँदा भारत र चीनबीचको तनाव तीव्र भएको छ । नेपालले लिएको तटस्थ नीतिको चीनले स्वागत गरेको छ भने भारतको आधिकारिक धारणा आइसकेको छैन । भारतीय विश्लेषकहरुले यस विषयमा समेत कुराकानी हुने दाबी गरिरहेका छन् ।
- देउवाको भारत भ्रमणको अगाडि सरकारले प्रदेश र संसदको निर्वाचनको लागि मिती घोषणा गरेको छ भने भारतको चासो रहेको संविधान संशोधको विषय संसदमा फेल भएको छ । दिल्लीको राजनीतिक भेटघाट बाहेक देउवाले तिरुपति तथा बोधगयाको भ्रमणको लागि समेत पर्याप्त समय छ ।
ekantipur


