लक्की चौधरी
काठमाडौँ, भदौ ४ गते । नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशन आइतबार काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद् तथा अन्य पत्रकार काठमाडौंँमा भेला भएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आइतबार बिहान सुरु हुने महासङ्घको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने महासङ्घले जनाएको छ । महाधिवेशनले महासङ्घको आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
व्यावसायिक पत्रकारहरूको संस्था महासङ्घको नयाँ कार्यसमितिको नेतृत्वका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायतका पत्रकारसम्बद्ध सङ्गठन क्रियाशील रहेका छन् । ती तीनै संस्था भने मुलुकका मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शुभेच्छुक हुन् ।
महासङ्घमा सबैभन्दा बढी पार्षद् भएको दाबी गर्ने प्रेस चौतारी नेपालले पत्रकार तीर्थ कोइरालाको नेतृत्वमा साना दलका पत्रकार सङ्गठनसँग गठबन्धन गरेर प्यानलसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको जनाएको छ । नेपाल प्रेस युनियन र प्रेस सेन्टरले साझा उम्मेदवारका रूपमा गोविन्द आचार्य नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । दुवै सङ्गठनसँग चौतारीभन्दा बढी पार्षद् रहेको दाबी गरिएको छ । महासङ्घमा एक हजार ५१६ जना पार्षद प्रतिनिधिले मतदान गर्नेछन् ।
महाधिवेशनमा भाग लिन आएका पत्रकारलाई महासङ्घले भोजन र आवासको व्यवस्था मिलाएको छ । उम्मेदवारलाई मत माग्न र प्रचारप्रसार गर्न सहज होस् भन्ने उद्देश्यले पनि पार्षदहरूलाई राजधानीको सुन्धारास्थित लजहरूमा आवासको व्यवस्था गरिएको नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले बताउनुभयो ।
महासङ्घले प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । संयोजक खनालका अनुसार आइतबार दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता, अपराह्न ३ः४५ बजे उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः४५ देखि ४ः४५ सम्म उम्मेदवारविरुद्धको दाबी विरोध लगायतका कार्यक्रमसँगै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।
त्यस्तै सोमबार भदौ ५ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तय गरिएको संयोजक खनालले जानकारी दिनुभयो ।मतदान प्रक्रिया कमलादीस्थित प्रज्ञा भवनमै हुने भए पनि मतगणना भने तिलगङ्गास्थित पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरिने महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो ।
मतदान प्रक्रिया सकिएलगत्तै सोमबार साँझदेखि नै मतगणनाको काम अगाडि बढाइनेछ । महासङ्घको हरेक तीन वर्षमा महाधिवेशन हुने गरेको छ । महासङ्घको ४७ सदस्यीय नयाँ कार्यसमितिमध्ये अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव छ, कोषाध्यक्ष गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वाचित हुने विधानमा व्यवस्था छ ।
श्रमजीवी पत्रकारको हकहित र नेपाली मिडियाको प्रवद्र्धनका लागि साझा रूपमा आवाज उठाउँदै आएको महासङ्घमा नेतृत्वका लागि ठूलो प्रतिस्पर्धा हुने गरेको छ । पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षा र क्षमता अभिवृद्धिका लागि महाधिवेशनका बेला उम्मेदवारले ठूल्ठूला नारा दिने गरे पनि निर्वाचित भएपछि त्यसको कार्यान्वयनमा खासै ध्यान नदिने गरेको श्रमजीवी पत्रकारको गुनासो रहँदै आएको छ ।
यस २५औँ महाधिवेशनमा होमिएका पत्रकार तथा उम्मेदवारले लिखित कार्यसूची भने अगाडि सारिसकेका छैनन् । उनीहरूले पत्रकारहरूमाझ व्यावसायिक पत्रकारिताको प्रवद्र्धन र श्रमजीवी पत्रकारको हकहितमै प्रचारप्रसारलाई अगाडि बढाइरहेका छन् ।
gorkhapatraonline


