, राजविराज
श्रावण ३१, २०७४- उनले बडो ममतापूर्वक बालकलाई च्यापेका थिए । झरी परेको आकाश केही उघ्रिए पनि मौसम चिसो–चिसै थियो । बालकलाई कम्बल ओढाइएको थियो । लाग्यो– उपचार गर्न अस्पताल लैजाँदै गरेको हुनुपर्छ ।

मैले जिज्ञासा राखें । बालक बोक्ने व्यक्ति केही बोलेनन् । साथमा आएका अर्का व्यक्तिले भने, ‘बाढीमा डुबेर यो बालकको मृत्यु भयो । जताततै पानी नै पानी छ । गाड्ने ठाउँ पाइएन । त्यसैले कोसीमा बगाएर सद्गत गर्न जाँदै छौं ।’
सुन्दै मन कटक्क भयो । नहरको डिलैडिल उनीहरू अघि बढिरहेका थिए । पाइला पछ्याउँदै हामी पनि गयौं । करिब एक किलोमिटर पार भएपछि कोसीको किनार भेटियो । बालकको शव बोक्ने व्यक्ति चुपचाप अघि बढे । कम्मरसम्म डुब्ने भागमा पुगेपछि होसियारीपूर्वक पानीमाथि शव राखिदिए । आधा मिनेट पनि नभई शव पानीले बगाउँदै लग्यो । उनले हेरिरहन सकेनन् । बग्दै गरेको एउटा फोटो खिचेपछि मैले पनि हेर्न सकिनँ । केही समयपछि हेर्दा शव अलप भइसकेको थियो ।

बाढीले तराईका जिल्लाहरू डुबानमा परेलगत्तै म सप्तरी आएको थिएँ । कोइलाडी र सकरपुरा गाउँमा धेरै व्यक्ति बाढीमा फसेको सुनेपछि नेपाली सेनाको ‘रबरबोट’ मा तिलाठीको मुसहर बस्ती पुगें । उद्धारको प्रतीक्षामा रहेकाहरूको अवस्था कहालीलाग्दो थियो । म फसेकाहरूको फोटो खिचिरहेको थिएँ ।
आइतबार दिउँसो एक स्थानीय बासिन्दाले फुदन सदाका ५ वर्षीय छोरा कमलुको मृत्यु भएको सूचना दिए । उनले जाने बाटोसमेत बताइदिए । हामी त्यतै गयौं । बायाँतिर अलि पर कोसी नदी गडगडाउँदै बगिरहेको थियो । कम्बलभित्र तिनै कमलुको शव रहेछ र बोक्ने उनका काका देवकुमार सदा ।
मधेसको दलित समुदायमा बालबालिकाको निधन हुँदा गाड्ने परम्परा छ । त्यसका लागि बाटोघाटोबाट अलि टाढा सार्वजनिक स्थल प्रयोग गरिन्छ । त्यस्तो ठाउँ जति खोज्दा पनि नपाएपछि सदा परिवारका लागि शव बगाइदिनुको विकल्प थिएन । नदीमा बालकको सद्गत गरेर निस्किएपछि भावविह्वल देवकुमारले भने, ‘निमुखालाई सरकारले त हेर्दैन–हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’
तस्बिर र शब्दहरू : नरेन्द्र श्रेष्ठ/युरोपियन प्रेस फोटो एजेन्सी
राजविराज– खाँडो, कोसी र जिता नदीको बाढी शनिबार बिहान गाउँ पसेपछि घरमा एक्लै रहेकी तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित मुसहर टोलकी विमली सदाले ५ र १० वर्षका दुई छोरालाई च्यापिन् । सुरक्षित हुन बाढी छिचोल्दै अग्लो ठाउँ खोज्दै भौंतारिन थालिन् । घरभित्रै ४/५ फिटसम्म पानी पसेपछि जसोतसो दुई छोरा लिएर घरबाहिर निस्किइन् । धरानमा मजदुरी गर्ने पति फुदन सदा घरमा थिएनन् ।
जोगिन यताउति छलिँदै विमली अघि बढिन् । बिरामी बालक काखबाट बाढीको पानीमा खस्यो । ‘बाढीको पानी पिएर डुब्ने स्थितिमा पुगेका छोरालाई जसोतसो जोगाएको थिएँ,’ भक्कानिँदै उनले सुनाइन्, ‘तर दैवले मेरो प्राणको टुक्रालाई लिएरै गयो ।’ दूषित पानी र खानाका कारण बालक कमलु बिरामी थिए । ‘घरमा पानी जमेको थियो, गाउँबाट बाहिर जाने बाटो पनि पानी नै पानीले भरिएको थियो, एक्ली मैले छोरालाई अस्पतालसम्म पुर्याउन सकिनँ,’ उनले भनिन् । बाढी पसेको घरबाट जसोतसो गाउँ नजिकै अग्लो स्थानमा रहेको कोसीको पश्चिमी तटबन्धमा त्रिपालको आश्रय लिन गएकी विमलीका छोरा कमलु थप बिरामी परे । बाबु धरानतिरै थिए । चारैतिर बाढी नै बाढी थियो । छिमेकीको सहयोगमा उपचारका लागि तिलाठीस्थित स्वास्थ्य क्लिनिकमा लग्दै गर्दा बाटामै कमलुको प्राण गयो ।
‘यस्तो कसैलाई नहोस्,’ विमलीले भनिन्, ‘कहाँ छ सरकार, बाढी आउँदा हामी गरिबका छोराछोरीले उपचारै नपाएर मृत्युको मुखमा जानुपर्ने ?’ तराईको दलित मुसहर समुदायको सदा परिवार आर्थिक रूपले अति विपन्न छ ।
एक त बाढीको पीडा, त्यसमाथि छोरा गुमाउनुपर्ने शोक र सद्गतका लागि जग्गा पाउन नसक्नुले सदा परिवारसँगै सिंगो मुसहरबस्ती अहिले शोकमग्न छ । पानीले प्राण लिएको कमलुको सद्गत गर्ने जमिन पनि भएन । आखिर, उनको शव पनि पानीले नै लिएर गयो ।
कमलुका परिवारसहित कोइलाडीको मुसहरबस्तीका बाढीपीडित अहिले हनुमाननगर कुनौली सडक खण्डअन्तर्गतको कोसीको बाँध तल पालमुनि आश्रय लिइरहेका छन् ।
ekantipur


