- पहिरोको त्रासले स्थानीय जंगलतिर
श्रावण २०, २०७४- अविरल बर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निशी खोला गाउँपालिकामा शुक्रबार विहान तीन घर पुरिएर एकै घरका ४ सहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र दुई पुरुष छन् ।
पहिरोले घर बगाउँदा पुरिएर निसीखोला २ हुल्दीमा एकै घरका ६५ बर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ बर्षीया नन्दकली, १८ बर्षीया छोरी गिता र २२ बर्षीया बुहारी विन्दुको मृत्यु भएको हो । निसीखोला १ की ७६ बर्षीया खगिसरा सिंजालीमगर र ढोरपाटन ५ का ५३ बर्षीय ओमप्रकाश कामीको पहिरोले पुरिएर मृत्यु भएको हो । शुक्रबार विहान करिव ७ बजे पहिरो खस्नु लगत्तै मनिमान र ओमप्रकाशको शव निकालिएको थियो भने अन्यको स्थानीय र प्रहरीद्वारा पहिरो पन्छाएर मध्यान्ह शव निकालिएको हो । ढिस्कोसँगै आएको पहिरोले पुरै घर पुरिंदा उनीहरुको मृत्यु भएको उद्धारमा खटिएका ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए ।
मृतकहरुको शव पोष्टमार्टमको लागि बुर्तिवाङ अस्पतालमा राखिएको छ । पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएपछि आफन्त र स्थानीय शोकमा रहेको स्थानीय ५२ बर्षीय सहवीर मगरले बताए ।
‘पहिरोले छिमेकका मानिसको मृत्यु भएपछि घरमा बस्नै मन लागेको छैन,’ उनले भने, ‘हामीहरु कुन बेला पहिरोले मरिएला भनेर त्रास र चिन्तामा बस्नु पर्ने अवस्था छ । बालबालिकाहरु घर भित्र पस्नै मान्दैनन् ।’
करिव २ सय ५० मिटर माथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । अन्य स्थानमा समेत सानातिना ५/७ वटा पहिरो गएपनि उक्त स्थानमा घर नभएकोले मानविय क्षति नभएको मगरले बताए । हुल्दीमा करिव १ सय ४० घर रहेको र घरहरु छरिएर रहेकोले अन्य घरमा पहिरोले असर नगरेको उनले जानकारी दिए । गाउँलेहरुले शुक्रबार घरबाट लत्ताकपडा र भाडावर्तन निकालेर सुरक्षाको लागि घरमाथिको जंगलतिर लागेको उनले जानकारी दिए ।
ढोरपाटन र निसी खोलामा करिव १ दर्जन घरहरु बगाएको उनीहरु छिमेकीको घरमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । पहिरोले घर पुरिएर एकै घरका ४ जना सहित ६ जनाको ज्यान जानु दुखद रहेको उनले बताए । उक्त स्थानमा अझै पहिरोको जोखिम रहेकोले पहिरो प्रभावित परिवारलाई तत्कालको लागि उद्वार र राहतमा खटिनु पर्ने अवस्था रहेको उनले बताए । तत्कालको लागि सुरक्षित बसाईको व्यवस्था गर्न उनले सबैमा आग्रह गरे ।
‘हामी अहिले ज्यादै शोकमा छौं,’ उनले भने, ‘पहिरोको जोखिम पहिचान गरी सुरक्षित बसाईको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक ठानेको छु । त्यसको लागि माथिल्लो निकायबाट नै पहल हुन आवश्यक छ ।’
आफूहरुले गाउँहरु पहिरोको जोखिममा रहेकोले निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको कुलो समेत बडीगाड खोलाले बगाउँदा उक्त क्षेत्रका करिव १ हजार घरधुरी अन्धकारमा बस्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए ।
पहिरो गएको हुल्दी पुग्न बुर्तिबाङ बजारबाट पश्चिमतर्फ करिव ४ घण्टा पैदलयात्रा गर्नु पर्छ । बुर्तिवाङ बागलुङ बजारबाट करिव ६८ किलोमिटर टाढा पर्छ ।
ekantipur




















