सलमान खान
नवलपरासीमा ढुंगा गिट्टी बालुवा तस्कारको आतंक छ । तस्करको दबावमा एक वर्षको अवधिमा दुई जना स्थानीय विकास अधिकारी (एलडीओ)को सरुवा भएको छ । पछिल्लोपटक एलडीओ युवराज कट्टेलको सरुवा गरिएको छ । त्यसअघि जिवलाल भुसालको सरुवा भएको थियो ।
दुवै जनाले घुस नलिई इमान्दारीपूर्वक काम गर्दा पुरस्कारस्वरुप सरकारको तर्फबाट सरुवा पत्र पाएका छन् ।१० साउन, भैरहवा । चलचित्रहरुमा खलनायकले आफ्नो शक्तिको दुरुपयोग गरेर इमान्दार कर्मचारीको सरुवा गरेको देखिए जस्तै घटना नवलपरासी जिल्लामा देखिएको छ । मुठ्ठीभरका तस्करहरुका अगाडि राष्ट्रसेवक कर्मचारी कसरी लाचार बन्न बाध्य हुन्छ र सरकारी संयन्त्र कति निरीह बन्दो रहेछ भन्ने उदाहरण छ नवलपरासी जिल्लामा ।
भुसालको सरुवापछि पुस २८ गते युवराज कट्टेललाई नयाँ एलडीयो बनाएर पठाइयो । तर, उनी पनि टिक्न सकेनन् । तस्करहरुको दबावमा उनको गत असार ३० गते सरुवा भयो ।विना अनुमति नदी दोहन गरेर अनाधिकृत रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दा नवलपरासी जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी (एलडीओ) जिवलाल भुसालले त्यसउपर कारवाही चलाएका थिए । त्यसबाट असन्तुष्ट पक्षले २०७३ पुस २२ गते भुसाललाई धादिङमा काज सुरुवा गरायो ।
यस्तो छ सरुवाको कारण
एलडिओ कट्टेलले पदभार ग्रहण गरेलगत्तै जिल्लामा अनुगमन सुरु गरेका थिए । अनुगमनको क्रममा चोरी गरेर नदीजन्य पदार्थहरु स्टक गरेर राखेको पाइयो । उनले सम्बन्धित क्रसर व्यवसायीहरुलाई स्टक गरेर राखेको नदीजन्य पदार्थ खरिद गरेको स्रोत खुलाउन भन्दै पत्राचार गरे ।
क्रसर व्यवसायीहरुले स्रोत खुलाउन नसकेपछि एलडीओ कट्टेलले स्टकमा रहेको करोडौं रुपैयाँ मूल्य बराबरको ३४ लाख घनमिटर नदीजन्य पदार्थ लिलामीको सूचना निकाले । लिलामी सूचना पश्चात तिल्मिलिएका व्यवसायीहरुले अदालतमा लिलामी विरुद्ध मुद्दा हाले । अदालतले पनि व्यवसायीहरुको पक्षमा लिलामी नगर्न/नगराउन भन्दै अन्तरिम आदेश जारी गर्यो । अहिले मुद्दा विचाराधीन अवस्थामा छ ।
यसअघिका एलडीओ जिवलाल भुसालले विष्णु कार्कीको कम्पनी उपर गरेको कारवाहीलाई कट्टेलले निरन्तरता दिएका थिए । कार्कीको स्मृति निर्माण कम्पनीले अनधिकृत रुपमा दोहन गरेर लाखौं घनमिटर नदीजन्य पदार्थ स्टक गरेर राखेको छ ।
स्मृति निर्माण कम्पनी नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु कार्कीको कम्पनी हो । स्मृति निर्माण कम्पनीले अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी उपर कारवाही गर्न खोज्दा भुसाल र कट्टेलको सरुवा भएको स्थानीय बताउँछन् ।
‘तस्करहरुले सरुवा गराए’
एलडीओ युवराज कट्टेलले इमान्दारीपूर्वक राज्यको सेवा गर्दा चोर, तस्करहरुले आफ्नो सरुवा गराएको गुनासो गर्छन् ।
उनी भन्छन्- म यहाँ (नवलपरासी) आउन चाहेको थिएनँ तर पटक-पटकको दबाव पश्चात म यहाँ आए । र, यहाँ आएर एउटा इमान्दार कर्मचारीले जे गर्नुपर्ने हो मैले त्यही कार्य गरे । र, त्यही इमान्दारीको कार्य गर्दा आज मैले सरुवाको पत्र पाएँ । मैले यहाँ आएर नदी दोहान गर्न दिएन, चोरी, तस्करी गर्न दिएन । चोर र तस्करहरुलाई कानुनी दायरामा ल्याएँ । त्यसको स्वरुप सरकारले मलाई सरुवा पत्र उपहारमा दिएको छ ।
कामको क्रममा उनले जिल्लाको सीडीओ र एसपीको राम्रो सहयोग पाएको बताउँछन् ।
उनी भन्छन्- यहाँ खराब जमातको बिचमा असल जमात पनि छ । मैले स्टकमा राखिएका नदीजन्य पदार्थ स्रोत खुलाउन पत्राचार गरेपछि केही व्यवसायीहरु आएर जरिवाना तिर्दै आफूहरुलाई अवैधबाट वैध बनाएको भन्दै धन्यवाद पनि दिए । तर मुठ्ठीभरका तस्करहरुको अगाडि सरकारी सेवक लाचार बन्नुपर्दो रहेछ ।
उनले भने- मेरो सरुवा भएपश्चात अहिले रातिको समयमा व्यापक रुपमा नदीको अनाधिकृत रुपमा दोहन भइरहेको छ । ट्याक्टर र टिप्परहरुमा रातारात नदीजन्य पदार्थहरु अवैध रुपमा स्टक भइरहेको छ । यसलाई अब कसले रोक्ने ? इमान्दार कर्मचारी आए सरुवा पत्र उपहारमा पाइँदो रहेछ । घुस खाएर नदी दोहन गर्ने कर्मचारी पो यहाँ चाहिदो रहेछ ।
सरुवा पत्र प्राप्त गरे पश्चात मन्त्रालयका सचिवलाई सम्पर्क गरेका उनले ‘माथिको दवाव’ रहेको भन्ने जवाफ पाएका छन् ।
उनले कार्यरत ६ महिनामा जरिवानाबाट मात्र ८७ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् ।
साउन महिनादेखि खोलाहरु ठेक्का लगाउने प्रक्रियामा जान्थ्यो । अब पनि खोलाको ठेक्का लाग्यो र यही एलडीओ भएमा अनधिकृत रुपमा चोरी निकासी गर्न समस्या हुने भन्दै तस्करहरुले उनको सरुवा गरेको बताइन्छ । ठेक्का लगाउनु अघि नै उनको असार ३० गते सरुवा गराइएको छ ।
स्रोतका अनुसार एलडिओ कट्टेलको सरुवा गराउनमा नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको मेयर भरत थापा, क्रसर व्यवसायी संघ नवलपरासी लगायतको समूह रहेको छ ।
onlinekhabar


