७ साउन, इलाम । पश्चिम बंगाल सरकारको अघोषित नाकाबन्दीका कारण खाद्य संकट व्यहोरिरहेका दार्जीलिङबासीलाई नेपाली युवाहरुले निःशुल्क खाद्य सामग्री वितरण गरेका छन् ।
उनीहरुले शुक्रबार रिङटाङ र सिडर्सलगायतका क्षेत्रहरुमा एक गाडी खाद्य सामग्री वितरण गरेका छन् । यो क्षेत्रमा दैनिक चिया कमानमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाले राहत वितरण गरेको खाद्य संकलन र वितरणमा नेतृत्व गरिरहेका पशुपतिनगरका युवा अमर गोलेले बताए ।नेपाली भाषी भारतीयहरुको दुःख देखेका सीमा क्षेत्रका युवाहरुले दार्जिलिङका विभिन्न स्थानहरुमा खाद्य सामग्री वितरण गरेका छन् । पशुपतिनगर युवाहरुले स्थानीयसँग खाद्य सामग्री संकलन गरेर भारततर्फ लगेका छन् । युवाहरुले चामल, दाल, खानेतेल, सब्जी, चिउरा, आटा चिनी जस्ता खाद्यान्न लगेर वितरण गरेका हुन् ।
लामो समयदेखि आमहड्ताल र खाद्यान्नमा भएको नाकाबन्दीका कारण खाद्य अभाव भएकाले राहत स्वरुप खाद्यान्न वितरण गरेको गोलेले बताए ।
उनले यस पटक एक गाडी खाद्यान्न लगेर वितरण गरेकोे र यसलाई निरन्तरता दिइने बताए । ‘मानवीय नाताले हामीले यो राहत सामग्री वितरण गर्न लागेका हौं ।’ उनले भने ‘यसलाई हामी निरन्तरता दिने छौं ।’
दार्जीलिङलगायत पहाडी क्षेत्रमा अलग राज्य गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले डेढ महिनादेखि आन्दोलन जारी राखेको छ ।
आन्दोलनलाई निस्तेज पार्नका लागि पश्चिम बंगाल सरकारले खाद्यान्नमा अघोषित नाकाबन्दी गरेपछि आन्दोलनरत क्षेत्रमा खाद्यान्न संकट उत्पन्न भएको छ ।
onlinekhabar


